'लाओससँगको खेलका लागि शारीरिक र मानसिक रूपमा तयार छौं'
काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले शुक्रबार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् ।
नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताएका हुन् । नेपाली टोली शुक्रवार आयोजना हुन लागेको फाइनल खेलका लागि मानसिक र शारीरिक हिसाबमा तयार भएको उल्लेख गरे ।
उनले टोलीमा नयाँ खेलाडीको बाहुल्यता भएको र उनीहरूको मनोबल उच्च बनाउनका लागि पनि यो प्रतियोगिताको उपाधि निकै महत्वपूर्ण रहेको बताए । नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुसी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको समेत किरणकाे भनाइ छ ।
यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांश नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको उल्लेख गरे । टोली मानसिक र शारीरिक हिसाबमा तयार रहेको भन्दै शुक्रबार नेपाली टोली सुखद नतिजाका लागि खेल्ने बताए । टोलीमा धेरैजसो नयाँ खेलाडी भएकाले सबै खेलाडीका लागि फाइनल खेल राम्रो अवसर भएको बताउँदै प्रशिक्षक एनिसले भुटानविरुद्धको खेलमा चोट बोकेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुने समेत जानकारी दिए ।
भुटान अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा स्थान बनाएको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालविरुद्ध संघर्ष गरे पनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताए । घरेलु टोलीविरुद्ध हुने खेल निकै प्रतिष्पर्धात्मक हुने विश्वास राख्दै अहिलेको टोलीमा धेरैजसो खेलाडीले यु–१९ उमेर समूहको भएको र उनीहरूले राम्रो खेल्दै घर फर्किने बताए ।
खेल लाओस फुटबलका लागि धेरै अवसर हुने भन्दै टोली कुनै पनि हालतमा जितका लागि खेल्ने हान्स मिकेल विसले बताए ।
यस्तै लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिष्पर्धाका लागि टोली उत्साहित भएको बताए । पहिलो खेलमा आफ्नो टोली मौसमका कारण अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाइँपछि टोली अभ्यस्त भएको भन्दै फाइनल उपाधिका लागि खेल्ने बताए । दुवै टोली उपाधिका लागि प्रतिष्पर्धा गर्दा खेल रोमाञ्चक हुने बताए ।
प्रतियोगितामा भुटान, लाओस र नेपालले प्रतिष्पर्धा गरेका हुन् । एन्फाले फिफा विन्डोको अवसरमा आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । यस्तै लाओसले भुटानविरुद्ध २–१ को नतिजा निकालेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया