फुटबल

खप्तड गोल्डकप : आयोजक सुदूरपश्चिम–११ पराजित

इकागज |
चैत १६, २०७९ बिहिवार २१:१९ बजे

कैलाली - धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’ को आजको खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब थ्रीस्टार क्लबसँग पराजित भएको छ ।

जितसँगै थ्रीस्टार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आयोजकलाई पेनाल्टी सुटआउटमा २–४ गोल गर्दै थ्रीस्टार फाइनल पुगेको हो । आज खेल सुरु भएको ३०औँ मिनेटमा पहेँलो कार्ड पाएका थ्रीस्टारका दिपेश गुरुङ ४४औँ मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनुपरेको थियो ।
 
दुवै टोलीले पहिलो हाफमा गोल गर्न नसकेर बराबरी खेलेका थिए । त्रियासीऔँ मिनेटमा हेडमार्फत गोल गर्दै थ्रीस्टारलाई विक्रम लामाले टिमलाई अग्रता दिलाए । दोस्रो हाफको खेलमा आयोजक सुदूरपश्चिम–११ का माधव भण्डारीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।


पेनाल्टी सुटआउटमा थ्रीस्टारका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल हुँदा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहारलाई थ्रीस्टारका गोलकिपरले रोकेका थिए । सुदूरपश्चिम–११ का फागुराम थारू र माइकल शाहीको प्रहार भने सफल भएको थियो ।

आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित विक्रम लामा रु १० हजारबाट पुरस्कृत भए । यसअघि बुधबार भएको खेलमा मनाङमर्स्याङ्दीले क्यामरुनको एभिनियर फुटबल क्लबलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । शनिबार थ्रीस्टार र मानङ मर्स्याङ्दीबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेतालाई रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।


Author

थप समाचार
x