ए डिभिजन लिगः एक टिम मात्रै अपराजित
काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत नवौं चरणका खेलहरु सोमबार टुंगिएको छ । नवौं चरणको समाप्तिमा १४ टिमको सहभागिता रहेको लिगको शीर्ष स्थानमा भने जावलाखेल युथ क्लब रहेको छ ।
जावलाखेलले ९ खेलबाट १७ अंक जोडेको छ । दोस्रो स्थानको सातदोबाटो युथ क्लबले पनि ९ खेलबाट १७ अंक जोडेपनि गोलअन्तरमा भने दोस्रो स्थान छ ।
जावलाखेल र सातदोबाटोले समान ५ खेल जित्दा २ खेलमा बराबरी खेलेका छन् । त्यसैगरी दुवै टिमले समान २-२ खेलमा पराजय भोगेका छन् ।
लिगमा सहभागी १४ मध्ये केवल चर्च ब्वाइज युनाइटेड अपराजित रहेको छ । ९ खेलमध्ये कुनै खेलमा पराजय नभोगेको चर्च ब्वाइज भने तेस्रो स्थानमा रहेको छ । ३ खेलमा जित हात पारेको तथा ६ खेलमा बराबरीको नतिजा ल्याएको चर्च ब्वाइजले १५ अंक जोडेको छ ।
लिगमा सबैभन्दा बढी पराजय भने विभागीय टोली नेपाल पुलिस क्लबले भोगेको छ । पुलिसले ६ खेल हारेको छ भने एक खेल जित्दा दुई खेलमा अंक बाँडेको छ । पुलिस ५ अंकसहित तालिकाको पुछारमा छ ।
एफसी खुमलटार र फ्रेन्ड्स क्लबले समान ५-५ खेलमा पराजय भोगेका छन् । खुमलटारले भने ३ खेल जित्दा फ्रेन्ड्सले २ खेलमा जित हात पारेको छ ।
एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब र न्यूरोड टिमले समान ४-४ खेलमा पराजय भोगेका छन् । तीन खेलमा पराजय भोग्ने त्रिभुवन आर्मी फुटबल क्लब एक्लो टिम हो ।
जावलाखेल र सातदोबाटोसँगै दुई खेलमात्र हार्नेमा मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, थ्रीस्टार क्लब र साविक विजेता मछिन्द्र क्लब रहेका छन् ।
मनाङ, संकटा र थ्रीस्टारले पनि समान १५ अंक जोडेपनि गोलअन्तरमा चौथो, पाँचौ र छैटौ स्थानमा छन् । मछिन्द्र १३ अंकसहित सातौ स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया