फुटबल

ए डिभिजन लिग : विभागीय डर्बी भिडन्तमा एपीएफको जित

इकागज |
बैशाख २७, २०८० बुधबार २०:१८ बजे

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा विभागीय डर्बी भिडन्तमा एपीएफले बाजी मारेको छ । आर्मीमाथि उत्कृष्ट खेल देखाएको एपीएफले ३–० को सहजत जित निकाल्दै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ४१ औं मिनेटमा अर्माण्ड बिडोमले एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । बिडोमले गोलकिपर विकेश कुथुलाई विट गर्दै गरेको प्रहारलाई आर्मीका रक्षकले रोक्ने प्रयास गरे पनि बलले गोलको दिशा लिएको थियो । ५४ औं मिनेटमा आभास लामिछानेले टोलीको अग्रता दोब्बार बनाएको खेलको ६२ औं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै एपीएफलाई ३–० को सहज जित निश्चित गरेका हुन् । 


यससँगै एपिएफले आर्मीबिरुद्ध लिग दोस्रो लेगमा पनि आर्मीलाई पराजित गरेको छ । पहिलो लेगमा एपीएफ १–० ले विजयी भएको थियो । जितसँगै एपीएफ १६ खेलमा ६ जित, चार बराबरी र ६ हारको नतिजासहित २२ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको आर्मी समान खेलमा पाँच जित, ६ बराबरी र पाँच हारको नतिजासहित २१ अंक जोडेर सातौं स्थानमा झरेको छ ।

लिग अन्तर्गत बिहीवारबाट १७ औं चरणका खेल हुनेछन् । १७ औं चरण अन्तर्गत बिहीवार एक खेल फ्रेण्ड्स क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
 


Author

थप समाचार
x