दुईपटककाे अग्रता गुम्दा फ्रेण्ड्सलाई रेलिगेसनकाे डर
काठमाडौं– साविक विजेता मच्छिन्द्र क्लबविरुद्ध दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा फ्रेण्ड्स क्लवले रेलिगेशन क्षेत्रभन्दा माथि उक्लिने मौका गुमाएको छ ।
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले दुई पटकसम्म लिएको अग्रतालाई जोगाउन नसक्दा उपाधि होडमा रहेको मच्छिन्द्रसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीले फ्रेण्ड्सलाई रेलिगेसन क्षेत्रबाट उम्किन कठिन भएको छ । बराबरीसँगै मच्छिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ । फ्रेण्ड्सको समान खेलबाट २१ अंक छ जुन एक स्थान माथि रहेको एपीएफको भन्दा एक अंकले मात्र पछाडि रहेको हो।
प्रतिष्पर्धात्मक बनेको खेलमा फ्रेण्ड्सका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका प्रकाश बुढाथोकी र रफिक अमिनुले समान एक÷एक गोल गर्दा मच्छिन्द्रका लागि दुवै गोल अफिज ओलावालेले गरे । दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । रेलिगेशन क्षेत्र छाड्ने लक्ष्यसहित दोस्रो हाफमा आक्रामक खेलेको फ्रेण्ड्सले ६८औं मिनेटमा शुरुवाती अग्रता लिएको थियो ।
प्रकाशले डोना थापाले उपलब्ध गराएको बललाई अगाडि बढाउँदै मच्छिन्द्रका रक्षक र गोलकिपरलाई बिट गर्दै पोस्टको दिशा दिएका थिए । पछि परेपछि मच्छिन्द्रले आक्रामक रणनीति लियो । फ्रेण्ड्सको अग्रता लामो समयसम्म टिक्न सकेन । तीन मिनेटपछि नै अफिजले मछिन्द्रका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । अफिजले युटा सुजुकीको कर्नरलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।
७९औं मिनेटमा अन्जल महर्जजको क्रसलाई गोलमा परिणत गर्दै अमिनु फ्रेण्ड्सलाई २–१ को अग्रता दिलाए । ८३औं मिनेटमा अफिजले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई २–२ को बराबरीमा ल्याएपछि दुवै तर्फबाट थप गोल हुन सकेन र अंक बाँड्न बाध्य भए । मच्छिन्द्र लिगमा फ्रेण्ड्सबिरुद्ध अपराजित रह्यो । पहिलो लिगमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया