फुटबल

विश्वकप खेलेको कुवेतविरुद्ध नेपाललाई इतिहास रच्ने अवसर

इकागज |
जेठ ५, २०८० शुक्रबार १३:३९ बजे

काठमाडौँ- भारतमा जुन २१ देखि जुलाई ४ तारिखसम्म आयोजना हुने साफ च्याम्पियनसीपका लागि नेपाल समूह ‘ए’ मा परेको छ । यसै समूहमा साविक विजेता भारतसँगै कुवेत र पाकिस्तान पनि रहेका छन् ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । कुवेत र लेबनान आमन्त्रित टिम हुन् । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले यस संस्करणमा साफ बाहिर दुई टिमलाई आमन्त्रित गर्ने निर्णय गरेअनुसार लेबनान र कुवेतले सहभागिता जनाउन लागेका हुन् ।


समूह विभाजन हेर्दा हालसम्म साफ च्याम्पियनसीपको उपाधि जित्न नसकेको नेपाल निकै कठिन समूहमा परेको छ । अझ नेपालले आफ्नो पहिलो खेल खेल्नुपर्ने कुवेतविरुद्ध हालसम्म एक खेलमा पनि जित हात पार्न सकेको छैन । तर साफ च्याम्पियनसीपमा कुवेतलाई पराजित गर्न सके नेपालले इतिहास कोर्न सक्छ ।

खासमा नेपाल र कुवेत हालसम्म ९ पटक आमने-सामने भएका छन् । तर कुवेतविरुद्ध नेपाल एक खेलमा पनि विजयी हुन सकेको छैन । कुवेतविरुद्ध नेपालको उत्कृष्ट नतिजा भनेको केवल एकपटक गोलरहित बराबरी खेल्नुमात्र हो ।

कुवेतमै सन् २०१९ को मार्चमा भएको मैत्रीपूर्ण खेलमा विराज महर्जनको कप्तानीमा रहेको नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले १-० को पराजय भोगेको थियो ।

पछिल्लो पटक नेपालले कुवेतविरुद्ध ४-१ को पराजय भोगेको थियो । एएफसी एसियन कपको तेस्रो चरणको छनोटअन्तर्गत २०२२ को जुनमा कुवेतमै भएको खेलमा नेपालले घरेलु टोलीविरुद्ध पराजय भोग्दा दर्शन गुरुङले एक गोल गरेका थिए ।

नेपालले कुवेतसँग अहिलेसम्मकै सबैभन्दा ठूलो पराजय भने सन् १९९४ को एसियन गेम्सका दौरान भोगेको थियो । जापानमा भएको एसियन गेम्समा नेपालले कुवेतविरुद्ध ८-० को पराजय भोगेको थियो । उक्त खेलमा अली मार्वी अल हाडायाले एक्लै पाँच गोल गरेका थिए ।

इतिहास हेर्दा साफ च्याम्पियनसीपमा सहभागी टोलीमध्ये सबैभन्दा सफल टोलीमा कुवेत पर्छ । कुवेतले हालसम्म एकपटक फिफा विश्वकप समेत खेलिसकेको छ । उसले सन् १९८२ मा स्पेनले आयोजना गरेको फिफा विश्वकप खेलेको थियो ।

सन् १९८० मा एएफसी एसियन कपको उपाधि जितेको कुवेतले हालसम्म १० पटक एसियन कप खेलिसकेको छ । भारतले भने सन् १९५० को विश्वकपका लागि छनोट भए पनि खेल्न पाएन । भारतले चार पटक एसियन कप खेल्दा सन् १९६४ मा भने उपविजेता बनेको थियो । लेबनानले भने दुई पटक एसिया कप खेलेको थियो।

इतिहास हेर्दा कुवेत सबैभन्दा बलियो टिम मानिएपनि पछिल्लो समय कुवेतको प्रदर्शन भने खस्किएको देखिन्छ । आगामी वर्ष जनवरीमा कतारमा हुने एसियन कपमा भने कुवेतले स्थान बनाउन सकेन । जबकी भारत र लेबनानले एसियन कपका लागि छनोट भएका छन् ।

फिफा वरीयतामा पनि कुवेत १ सय ४३ औँ स्थानमा हुँदा लेबनान ९९ औँ तथा भारत १ सय १ औँ स्थानमा छन् । नेपाल भने १ सय ७४ औँ स्थानमा छ ।


Author

थप समाचार
x