फुटबल

एपीएफ एएफसी कपको 'क्वालिफाइङ प्लेअफ' दौडबाट बाहिर

इकागज |
जेठ १९, २०८० शुक्रबार ९:५३ बजे

काठमाडौँ- नेपाल एपीएफ फुटबल क्लब आगामी सिजनको एएफसी कपको क्वालिफाइङ प्लेअफको दौडबाट बाहिरिएको छ । नेपालबाट एएफसीको क्लबस्तरीय प्रतियोगिता खेल्न केवल तीन क्लबमात्र योग्य छन् ।

मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफसँग मात्र एएफसी क्लब लाइसेन्स भएका कारण ती तीन क्लबले मात्र आगामी सिजनको एएफसीको क्लब स्तरीय प्रतियोगिता खेल्न पाउनेछन् । तर छनोटको आधार भनेको राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग हो ।


तर जारी लिगमा आठौँ स्थानमा रहेको एपीएफले अब मछिन्द्र र आर्मीलाई अंक तालिकामा पछि पार्ने सम्भावनाको अन्त्य भएको छ । जसका कारण एपीएफ एएफसी कपको क्वालिफाइङ प्लेअफबाट बाहिरिएको हो ।

समान २३ खेलबाट दोस्रो स्थानको मछिन्द्रले ३९ अंक जोड्दा आर्मीको ३० अंक छ । एपीएफको भने केवल २९ अंक छ । लिगमा बाँकी ३ खेलमा केवल आर्मीले मछिन्द्रलाई पछि पार्ने सम्भावना भए पनि मछिन्द्रले तीन वटै खेल भारी गोलअन्तरले हारेमात्र आर्मीले उसलाई पछि पारेर एएफसी कपको क्वालिफाइङ प्लेअफमा छनोट हुन सक्ने समीकरण छ ।


Author

थप समाचार
x