फुटबल

रेलिगेसनको खतरा टार्दै उपाधि हाेडमा पुग्याे नेपाल पुलिस

सञ्जीव शाह |
जेठ २०, २०८० शनिबार १५:१० बजे

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं चरणसम्मको खेल समाप्तिसम्म लिगको सर्वाधिक सफल टोलीमध्येका एक नेपाल पुलिस रेलिगेसनमा पर्ने खतरा बढेको थियो ।

अवस्था यस्तोसम्म पनि थियो कि छैटौं चरणको समाप्तिमा पुलिसले केवल एक अंक जोडेको थियो, अर्थात उसले पाँच खेलमा पराजय भोग्दा एक खेलमा मात्र अंक ल्याएको थियो । त्यो पनि न्यूरोड टिम (एनआरटी) सँग बराबरी खेलेर ।


पुलिसले सुरुवातका चारवटै खेलमा पराजय भोग्यो भने पाचौँ खेलमा एनआरटीसँग एक-एक गोलको बराबरी खेल्यो । १४ टिमबीच डबल राउन रोविनका आधारमा जारी लिगमा पुलिस ६ खेल खेल्दासम्म जितविहीन नै थियो ।

उसले सातौं खेलमा आएर फ्रेन्ड्स क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेर पहिलो जित हात पार्‍यो । तर पहिलो जित हात पार्दा पुलिसलाई मैदानमा पहिलो पटक विदेशी खेलाडी उतार्नुपरेको थियो । पुलिसलाई पहिलो जित दिलाउन बुद्ध बल तामाङले दुई गोल गर्दा विदेशी खेलाडी मवसेसे ग्याबाह टीवुनले गोल थपे ।

तर आठौँ खेलमा पुलिस पुनः पराजित भयो भने नवौँ खेलमा अंक बाँड्न बाध्य भयो । पुलिसले १० औँ खेलमा जावलाखेलसँग फराकिलो अर्थात ६-१ को गोलअन्तरको लज्जास्पद पराजय भोग्यो । १० औँ खेलसम्म पुलिसले ७ खेलमा पराजय भोगिसकेको थियो, उसकाे नाममा जित भने एउटा मात्रै थियाे । ११ औँ खेलमा आर्मीसँग अंक बाँडेको पुलिसले एक जित र तीन बराबरीको नतिजा निकालेर आफूलाई रेलिगेसन जोनमै सिमित पारेको थियो ।

पुलिसले दोस्रो जित हात पार्न १२ औँ खेल कुर्नुपर्‍यो । उसले १२ औँ खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गर्‍यो । तर रेलिगेसनबाट उम्किने सम्भावना अझै देखिएको थिएन । १३ औँ खेलमा खुमलटारलाई पराजित गर्दासम्म पुलिस तालिकाको पुछारमै थियो ।

तर १४ औँ खेलमा आएर तत्कालीन अवस्थामा लिग लिडर रहेको जावलाखेल युथ क्लबलाई २-१ पराजित गर्दै पुलिस पहिलो पटक रेलिगेसन जोनबाट बाहिर अर्थात १२ औँ स्थानमा उक्लियो ।

१५ औँ खेलमा भने हिमालयन शेर्पासँग २-१ ले पराजित भएपछि पुलिस पुनः रेलिगेसन जोन अर्थात १४ औँ स्थानमा झर्‍यो । १५ औँ खेल खेल्दा पुलिसले ८ खेलमा पराजय भोगिसकेको थियो भने ४ खेलमा जित तथा ३ खेलमा बराबरीको नतिजा ल्याएको थियो ।

१६ औँ खेलमा मनाङसँग अंक बाँडेको पुलिसले १७ औँ खेलमा संकटालाई पराजित गर्दै पुनः रेलिगेसन जोनभन्दा माथि उक्ल्यो । १८ औँ खेलमा नेपाल एपीएफलाई पराजित गरेको पुलिस १८ औँ चरणको समाप्तीमा १० औँ उक्लियो । त्यसपछि भने पुलिसले फर्केर हेर्नुपरेको छैन ।

पुलिसले १९ औँ खेलमा लिग लिडर चर्च ब्वाइजसँग पराजित भएपनि २० औँ खेलमा थ्री स्टार, २१ औँ खेलमा खुमलटार, २२ औँ खेलमा फ्रेन्ड्स तथा २३ औँ खेलमा एनआरटीलाई पराजित गर्दै अहिले ३४ अंकसहित चौँथो स्थानमा छ ।

उसले लिगमा केवल ३ खेल खेल्न बाँकी छ र उसले बाँकी रहेका सबै खेलमा जित हात पारे तथा चर्च ब्वाइज, मछिन्द्र र जावलाखेलले अंक गुमाएको अवस्थामा पुलिस लिग जित्ने अवस्थामा पुग्न सक्छ ।

शीर्ष स्थानमा रहेकाे चर्च ब्वाइजकाे ४१ अंक छ । चर्च ब्वाइज पुलिसभन्दा ७ अंकले अगाडि छ । चर्च ब्वाइजले ११ खेल जित्दै ८ खेलमा अंक बाँड्दा ४ खेल हारेकाे छ । चर्च ब्वाइजले अब खेल्ने सबै खेल गुमाए र पुलिसले सबैमा सफलता प्राप्त गरे ४३ अंक हुनेछ ।

१० खेल जित्दै ९ खेलमा अंक बाँडेर दाेस्राेमा रहेकाे मछिन्द्रकाे ३९ अंक छ । उसले पनि ४ खेल गुमायाे । चर्च ब्वाइजसँग २ अंकले पछाडि रहेकाे मछिन्द्र पुलिससँग ५ अंकले अगाडि छ । पुलिसकाे उपाधि यात्राका लागि मछिन्द्रले कम्तीमा दुई खेल हार्नुपर्ने हुन्छ । तर पुलिसलाई अब कुनै पनि खेलमा अंक बाँड्ने र हार्ने छुट हुनुहुँदैन ।

पुलिसभन्दा एक स्थान माथि छ जावलाखेल क्लब । १० खेल जित्दै ७ वटामा अंक बाँडेकाे जावलाखेलले ६ खेल गुमाएकाे छ । उसकाे ३७ अंक छ । याे भनेकाे पुलिससँग ३ अंकले अगाडि हाे । पुलिसले सबै खेल जितेर जाँदा उपाधि उचाल्न जावलाखेलले अब खेल्न बाँकी तीन मध्ये एउटाभन्दा धेरै खेल जित्नुहुँदैन ।  उसले अंक बाँड्दा भने पुलिसलाई समस्या हुँदैन ।

लिगका खेलहरूमा नेपाल पुलिस क्लब सबैलाई टाउकाे दुखाइकाे विषय बन्थ्याे । पुलिसले हरेक लिगमा आफूलाई बलियाे सावित गर्दै आएकाे छ । पुलिसले आधुनिक लिगमा लगातार तीनपटक उपाधि जितेर ह्याट्रिक गरेकाे थियाे ।

र, चालु लिगमा धेरैले साेचेका थिए । पुलिस रेलिगेसनमा पर्ने सम्भावना धेरै छ । अंक तालिकाकाे पुछारबाट हट्न संघर्षरत पुलिस अहिले उपाधि हाेडमा छ । माथि भनिए जस्तै समीकरण बने पुलिसकाे दिन फर्कन सक्नेछ ।

अहिले पुलिसले  ९ खेल गुमाएर १० खेल जित्दै ४ खेलमा अंक बाँडेकाे छ ।

 

 

 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x