फुटबल

अन्तिम खेल नखेल्ने चेतावनी दिएकाे खुमलटार चर्च ब्वाइजविरूद्ध मैदानमा उत्रँदै

इकागज |
जेठ २६, २०८० शुक्रबार १०:१२ बजे

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको अन्तिम खेलमा एफसी खुमलटारले आज च्याम्पियन बनिसकेको चर्च ब्वाइज युनाइटेड फुटबलसँग खेल्दैछ ।

रेलिगेसन जोन तथा १४ टिममध्ये अंक तालिको पुछारमा रहेको खुमलटार र चर्च ब्वाइजबीचको खेल एन्फा कम्पलेक्समा दिउँसो ३ बजेबाट सुरु हुँदैछ । २५ खेल खेलिसकेको खुमलटारले २७ अंक जोडेको छ । यता समान २५ खेलबाट २७ अंक जोडेको फ्रेन्ड्स क्लब भने गोलअन्तरको आधारमा १३ औँ स्थानमा छ ।


फ्रेन्ड्सले पनि आजै एपीएफ फुटबल क्लबविरुद्ध ३ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दैछ । ११ औँ स्थानमा रहेको एपीएफको ३० अंक छ ।

यता २५ खेलबाट २९ अंक जोडेको तथा रेलिगेसनमा पर्ने खतरामा रहेको थ्री स्टार क्लब १२ औँ स्थानमा छ । तर उसको अन्तिम खेल भने शनिबार हुने तय गरिएको छ ।

थ्री स्टारले अन्तिम खेलमा शनिबार चौँथो स्थानमा रहेको जावलाखेल युथ क्लबविरुद्ध खेल्ने तालिका रहेको छ ।

तर रेलिगेसनमा पर्ने सम्भावना रहेका क्लबहरुको खेल एकै दिन तथा एकै समयमा नराखिएको भन्दै एफसी खुमलटारले आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) सँग आपत्ति जनाएको छ ।

‘फिफा नियमअनुसार पनि खुमलटार, थ्री स्टार र फ्रेन्ड्सको खेल एकै दिन र एउटै समयमा खेलाइदिनुस भनेर हामीले माग राखेका थियौ । तर एन्फाले त्यति पनि गर्दिएन,’ खुमलटारको अध्यक्ष मणिराज विष्टले इकागजलाई भने। उनले यसमा एन्फाको नियत नै खराब रहेको आशंका पनि उत्पन्न भएको बताए ।

खुमलटारले बिहीबार नै रेलिगेसन पर्ने सम्भावना रहेका टिमहरुको खेल एकै दिन तथा एउटै समयमा नराखिए आफूहरुले अन्तिम खेल नखेल्ने भन्दै लिखितरुपमै चेतावनी दिएको थियो ।

तर एन्फाले भने खुमलटारको चेतावनीलाई वेवास्ता गर्दै पूर्व निर्धारित तालिकाअनुसार नै खेल खेलाउने निर्णय गरेको छ ।

यता अन्तिम खेल नखेल्ने चेतावनी दिएको खुमलटारले भने अन्तिम खेल खेल्ने जनाएको छ । खुमलटारका अध्यक्ष विष्टले अन्तिम खेल खेल्ने बताए ।

‘नखेल्ने त हुँदैन तर हाम्रो एउटै माग भनेको तीनवटै टिमका खेलहरु खेलाइनुपर्थ्यो । तर एन्फाले त्यो पनि मानेन । त्यसो भए एन्फाले के गर्छ भन्ने नै प्रश्न हो,’ उनले थपे ।


Author

थप समाचार
x