किन साउदीको फुटबल क्लबहरुलाई स्वतन्त्र कोषले लियो ?
काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो गत डिसेम्बरमा साउदी अरेबियन क्लब अल-नासरमा कीर्तिमानी मूल्यमा आवद्ध भए । यसै महिना स्पेनिस क्लब रियल मड्रिड छाडेर फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा तथा इंग्लिस क्लब चेल्सी छाडेर फ्रेन्च मिडफिल्डर एन’गोलो कान्टे साउदीकै अल-इतिहादमा आबद्ध भएका छन् ।
आगामी सिजनमा थप अन्य विश्वका चर्चित खेलाडीले साउदी क्लबहरुबाट खेल्ने अपेक्षा गरिएको अल-जजिराले जनाएको छ ।
तर जतिबेला विश्वका चर्चित खेलाडीहरुलाई साउदी क्लबहरुले भित्र्याउने कार्यलाई अघि बढाएका छन्, त्यही समयमा साउदीका चार क्लबलाई साउदीको स्वतन्त्र कोष अर्थात पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) लाई हस्तान्तरण गरिएको छ ।
साउदीका युवराज मोहम्मद बिन सलमानको निरिक्षणमा रहेको पीआईएफ इंग्लिस प्रिमियर लिग क्लब न्यूकासल युनाइटेडको पनि मालिक हो ।
पीआईएफले साउदीको ठूला क्लबहरु अल-नासर, अल-हिलाल, अल-इतिहाद र अल-अहलीलाई आफ्नो स्वामित्वमा ल्याएको हो । ती क्लबहरुमा पीआईएफको ७५ प्रतिशत तथा गैर-नाफामूलक कोषहरुको २५ प्रतिशत स्वामित्व रहने पीआईएफले जनाएको छ ।
क्लबहरुको स्वामित्व परिवर्तनको उदेश्य भनेको साउदी क्लबहरुलाई व्यावसायिक बनाउनु रहेको समेत पीआईएफले उल्लेख गरेको छ । व्यावसायिक बनाउनु भनेको विदेशी लगानी, साझेदारी, प्रायोजक भित्र्याउनु पनि रहेको जनाइएको छ ।
खासमा साउदीका क्लबहरु खेलकुद मन्त्रालयबाट नियन्त्रित हुन्छन् र आर्थिक सहयोगका लागि पनि सरकारकै भर पर्ने गरेका छन् ।
फ्रान्सेली स्केमा विजनेस स्कुलका स्पोर्ट्स एन्ड जियोपोलिटिकल इकोनोमी प्रोफेसर सिमोन चाडविकले विगतमा साउदीको फुटबल क्लबमा सरकारको संलग्नता व्यापक रहेको बताउँदै उनीहरु अहिले ती क्लबहरुलाई व्यापारिक संस्थाको रुपमा परिवर्तन गर्न लागेको बताए ।
साउदीको सरकारको स्वामित्वमा रहेको साउदी प्रेस एजेन्सीले नीजि क्षेत्रलाई सामेल गराएर थप लगानी भित्र्याउनका लागि पनि क्लबहरुलाई नीजिकरण गर्न लागिएको जनाएको छ । खासगरी, ठूलो लगानी भित्र्याउने, क्लबको संचालनमा सुधार तथा क्लबहरुलाई आर्थिक रुपमा बलियो बनाउनु रहेको एजेन्सीले उल्लेख गरेको छ ।
चाडविकका अनुसार इंग्लिस प्रिमियर लिग जस्तै साउदी क्लबहरुले विदेशी लगानी तथा खरिदकर्तालाई भित्र्याउन सक्छन् । विदेशी खेलाडी भित्र्याउनका लागि अहिले खर्चको सीमा नभएपनि यो योजना भने नौलो होइन । यसअघि सन् २०१७-१८ मा अल-शबाबका मुख्य कार्यकारी निर्देशक प्याट जानसेनले क्लबलाई नीजिकरण गर्ने योजना अघि सारेका थिए ।
जानसेनका अनुसार क्लबहरुलाई नीजिकरण गरियो भने विश्वका ठूला क्लबको स्तरमा पुर्याउन सकिने तथा क्लबलाई लामो समयसम्म संचालन गर्न सकिन्छ ।
यसले क्लब तथा लिगलाई आर्थिकरुपमा बलियो बनाउने अपेक्षा समेत गरिएको छ । सुरुवातमा साउदी प्रो लिगको आम्दानी १ सय २० मिलियन अमेरिकी डलरबाट बढाएर सन् २०३० मा ४ सय ८० मिलियन डलर पुर्याउने लक्ष्य रहेको तथा सोही समयमा लिगको ‘भ्यालु’ ८ सय मिलियन डलरबाट २.१४ बिलियन डलर पुर्याउनु रहेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ ।
गत वर्ष रोनाल्डो साउदी आउँदा साउदी लिगले प्रशारणका लागि कैयौं विदेशी कम्पनीसँग सम्झौता गरेको थियो । चर्चित खेलाडीलाई भित्र्याएपछि त्यसले व्यावसायिक रुपमा धेरै प्रभाव पार्ने जानसेनले बताए ।
‘यसले टिकट र खेल सामाग्री बिक्री बढाउनुका साथै मिडियाको ध्यान तान्दै प्रशारण अधिकार तथा प्रायोजक ल्याउन सघाउ पुर्याउछ,’ जानसेनले थपे । उनले सही योजनाअनुसार अघि बढे उक्त योजनामा साउदी सफल हुने समेत बताए ।
यता चाडविकले भने गत वर्ष फिफा विश्वकप आयोजना गरेर कतारले पाएको सफलताबाट पनि साउदी अरेविया उत्साहित बनेको धारणा राख्छन् ।
श्रोतः अल-जजिरा ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया