फुटबल

३८ वर्षकै उमेरमा ११ देशमा फुटबल प्रशिक्षक बनिसकेका भिन्सेन्जो

इकागज |
असार २३, २०८० शनिबार १३:२२ बजे

तस्बिरः एन्फा

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनेसले भर्खरै ३८ औं जन्मदिन मनाए । जीवनका ३८ औं वसन्त केही हुन् पनि केही होइनन् पनि । तर भिन्सेन्जोको जीवनमा यो संख्याले उपलब्धिको संकेत गर्छ । कुनै समय विश्वविद्यालयको सहायक रहेका उनी यो जिम्मेवारी छाडेर विश्व घुम्ने अभियानमा छन् । अर्थात् उनले यो छोटो उमेरमा नै कैयौं देशका फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

इटालियन नागरिक भिन्सेन्जो गत मार्चदेखि नेपाली टोलीको मुख्य प्रशिक्षकको भूमिकामा छन् र उनी नियुक्त भएको चार महिना पूरा भइसकेको छ । उनको प्रशिक्षणमा नेपालले दुई फुटबल प्रतियोगिता तथा एक मैत्रीपूर्ण खेल खेलिसकेको छ । उनकै नेतृत्वमा गत मार्चमा काठमाडौँमा भएको प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको थियो ।


नेपाल, भुटान र लाओसको सहभागिता रहेको थ्री नेसन्स कपमा नेपालले लाओसलाई २-१ गोलअन्तरले पराजित गरेर उपाधि जितेको थियो । त्यसपछि जुन १५ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले आयोजक फिलिपिन्सविरुद्ध १-० को पराजय भोग्यो । त्यस लगतै जुन २१ देखि जुलाई ४ सम्म भारतमा भएको साफ च्याम्पियनसीपको समूह चरणबाटै पनि नेपाल बाहिरिन पुग्यो ।

साफ च्याम्पियनसीपको समूह चरणको अन्तिम खेलमा भने नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको थियो ।  नेपाली टोली समूह चरणबाटै बाहिरिएपनि प्रशिक्षक भिन्सेन्जो नेपाली टोलीको प्रदर्शनबाट भने निराश भएका छैनन् ।

खासमा नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुअघि भिन्सेन्जोले विभिन्न १० देशका क्लब तथा युवा टिमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेको गजेटा डट आइटीले जनाएको छ । सन् १९८४ मा जन्मिएका तथा खेलाडीको रुपमा केवल ५ वर्ष फुटबल खेलेका भिन्सेन्जो २६ वर्षकै उमेरमा प्रशिक्षक जिम्मेवारी सम्हाल्न थालिसकेका थिए ।

उनी सन् २०१० देखि २०१३ सम्म इटालीको फिडेलिस एन्ड्रियाको युथ टिमको प्रशिक्षक बने भने सन् २०१३ मा इटालीकै लेगा प्राइम डिभिजन खेल्ने फोगियाको प्रशिक्षक बने । त्यसपछि भिन्सेन्जोले सन् २०१५ र २०१६ मा अर्मेनियाको विभिन्न युवा टोलीका लागि प्राविधिक प्रशिक्षकको भूमिका निर्वाह गरे ।

अर्मेनियापछि उनी सन् २०१७ मा घानाको प्रिमियर लिग क्लब बेचेम युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भए । भिन्सेन्जोको प्रशिक्षणमा बेचेम युनाइटेड सन् २०१७ मा घाना सुपर कपको उपविजेता बन्यो । २०१७ मै उनी प्यालेस्टाइनको वेस्ट ब्याँक प्रिमियर लिग क्लब अहली अल-खलिलको मुख्य प्रशिक्षक बने भने २०१८ मा उनले इन्डोनेसियाको लिगा वान क्लब पीएसआईएस सेमाराङको मुख्य प्रशिक्षकको रुपमा काम गरे ।    

सन् २०१८-१९ मा उनी कोसोभोको फस्ट फुटबल लिग क्लब लिरिया प्रिजरेन तथा सन् २०१९ मा बेलिजको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भए । सन् २०२० मा भारतको आई-लिग क्लब गोकुलम केरलाको मुख्य प्रशिक्षक नियुक्त भए । भिन्सेन्जोकै प्रशिक्षणमा गोकुलम केरलाले पहिलो पटक सन् २०२०-२१ मा आई-लिगको उपाधि जित्यो । साथै गोकुलम केरला २०२२ को एएफसी कपको समूह चरणमा छनोट भयो । ​भिन्सेन्जोको प्रशिक्षणमा गोकुलम केरलाले आई-लिगको २१ खेलमा अपराजित रहँदै कीर्तिमान कायम गरेको थियो ।

सन् २०२२ को अन्त्यमा इन्डियन सुपर लिग क्लब नोर्थइस्ट युनाइटेडको मुख्य प्रशिक्षक बनेका भिन्सेन्जो सन् २०२३ को मार्च १ देखि नेपालको मुख्य प्रशिक्षकको रुपमा रहेका छन् । 

यसबाहेक उनले स्टोनिया र लाट्भियामा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । 


Author

थप समाचार
x