बलात्कारको आरोपमा सफाइ पाएका सिटीका पूर्व डिफेन्डर मेन्डी फ्रेन्च क्लबमा अनुबन्धित
काठमाडौँ- म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर बेन्जामिन मेन्डी बलात्कारको आरोपमा सफाइ पाएको पाँच दिनपछि नै फ्रान्सेली क्लब लोरिएन्टमा अनुबन्धित भएका छन् ।
२९ वर्षीय लेफ्ट ब्याक मेन्डीको सिटीसँगको सम्झौता गत सिजनको अन्त्यमा सकिएको थियो । उनले फ्रान्सेली क्लबसँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।
मेन्डीमाथि ४ मिलियन पाउण्डको आफ्नै घरमा दुई महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर गत शुक्रबार चेस्टर क्राउन अदालतले उनलाई सफाइ दिएको थियो ।
फ्रान्सको राष्ट्रिय टिमबाट खेलिसकेका मेन्डीलाई जनवरीमा बलात्कारको ६ वटा मुद्दा र यौन दुर्व्यवहारको एक मुद्दामा अदालतले सफाई दिएको थियो ।
सिटीले सन् २०१७ मा फ्रान्सेली डिफेन्डरलाई अनुबन्ध गर्न मोनाकोलाई ५२ मिलियन पाउण्ड तिर्दा मेन्डी विश्वको सबैभन्दा महँगा डिफेन्डर बनेका थिए ।
उनले अन्तिम पटक अगस्ट २०२१ मा टोटेनहम हटस्परविरुद्ध सिटीका लागि प्रतिस्पर्धात्मक फुटबल खेलेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया