फुटबल

‘नेपाली महिला फुटबल टिम दक्षिण एसियाकै बलियो टिम हो’

इकागज |
भदौ २७, २०७८ आइतवार २०:११ बजे

फाइल फोटो

काठमाडौँ : बंगलादेशका राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक गोलाम रोबानी चोटोनले नेपाली टिम दक्षिण एसियाकै बलियो टिम भएको बताएका छन् । नेपाल र बंगलादेशबीचको महिला फुटबल गोलरहित बराबरीमा सकिएपछिको कुराकानीमा बंगलादेशका प्रशिक्षक चोटोनले नेपाली टोली दक्षिण एसियाकै बलियो टोली भएको प्रतिक्रिया दिएका हुन् । 

नेपाली फुटबल टोलीका खेलाडीलाई रोक्नु नै आफ्नो उपलब्धी भएको पनि उनले बताए । मैत्रीपूर्ण खेल आयोजनाका लागि उनले एन्फालाई धन्यवाद समेत दिए । नेपाली फुटबल टोलीले उमेर समूहदेखि नै राम्रो खेलिरहेको पनि उनले बताए । तर बंगलादेशले पछिल्लो समय महिला फुटबलमा राम्रो लगानी गरेकाले आगामी दिनमा त्यसको नतिजा हेर्न पाइने पनि उनले बताए ।


बंगलादेशले डिफेन्डिङ खेल्यो : नेपाली प्रशिक्षक फिलिप्स

नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली फुटबल टिमले राम्रो खेलेको बताए । खेल जित्ने कोसिस गरेपनि बंगलादेशले डिफेन्डिङ खेल्दा जित सम्भव नभएको उनको भनाइ छ ।

‘हामीले जित्ने कोसिस गरेका थियौँ । अझै राम्रो खेल्न सक्थ्यौं,’ उनले भने, ‘बंगलादेशले राम्रो डिफेन्डिङ खेल्यो ।’ उनले नेपालले सिर्जना गरेका अवसरको सदुपयोग गर्न नसक्दा गोल हुन नसकेको बताए । साथै उनले फरवार्ड लाइन नमिल्दा गोल हुन नसकेको पनि स्पष्ट पारे । नेपालले जित्न नसक्नुमा आफ्नो कमजोरी रहेको पनि उनले बताए ।

‘मेरो गल्ति हुन सक्छ । मैले पोजिसन परिवर्तन गरेँ’ उनले भने । आक्रामक खेलेर पनि बल नियन्त्रणमा राख्न नसक्दा गोल नभएको उनको भनाइ छ । महत्वपूर्ण खेलाडी टिममा नहुँदा पनि जित गाह्रो भएको उनको भनाइ छ । 

कम्बिनेसन मिलिरहेको छैन : कप्तान रेनुका नगरकोटी

नेपाली महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले खेलमा कमजोरी हुँदा जित हात नपरेको बताइन् । पुराना खेलाडी नहुँदा र नयाँ खेलाडीबीचमा मैदानमा राम्रो समन्वय नहुँदा फितलो प्रदर्शन भएको उनले बताइन् ।

‘सोचे जस्तो खेल भएन । स्कोरिङमा समस्या भयो,’ उनले भनिन्, ‘कम्बिनेसन पनि मिलिरहेको छैन । त्यसलाई उज्वेकिस्तानमा सुधार्नेछौं ।’ सन् २०२२ महिला एसियन कपको छनौटको तयारी स्वरुप नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेलेका हुन् । भारतमा हुने महादेशीय प्रतियोगिताका लागि हुने छैनौट खेलहरुका लागि नेपाल उज्वेकिस्तान जाँदैछ ।

छनौटको समूह एफमा रहेको नेपालले फिलिपिन्स र हङकङको सामना गर्नेछ । 
 


Author

थप समाचार
x