फुटबल

आन्सु फातीलाई पीएसजीको प्रस्ताव

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १३:५५ बजे

काठमाडौँ- बार्सिलोनाको ला-मासिया एकेडेमी युवा प्रतिभा उत्पादन गर्ने मामलामा निकै अगाडि छ । एकेडेमीका लागि अन्य क्लबबाट पनि किशोर खेलाडीहरू अनुबन्ध गर्ने गर्छ, बार्सिलोनाले । हाल सिनियर टिमका लागि चम्किरहेका किशोर आन्सु फातीलाई बार्सिलोनाले १० वर्षको उमेरमा अनुबन्ध गरेको थियो । 

लियोनल मेस्सीले क्लब छाडेपछि यिनै फातीलाई बार्सिलोनाको १० नम्बर जर्सी दिइएको छ । मेस्सीको बिँडो थाम्‍ने खेलाडीका रुपमा फातीलाई लिइएको छ । फातीले बार्सिलोनासँग हालै नयाँ सम्झौता पनि गरेका छन् । १८ वर्षीय फातीले सन् २०२७ सम्मका लागि बार्सिलोनासँग सम्झौता गरेका हुन् । 


सम्झौता नवीकरण नगरेको भए फाती आउँदो ‘समर विन्डो’मा फ्रि-एजेन्ट बन्‍ने थिए । उनले सम्झौता नवीकरण गर्न समय लगाएपछि बार्सिलोना चिन्तित थियो । किनभने बार्सिलोना फाती गुमाउन चाहँदैन थियो । 

यसअघि अर्का युवा खेलाडी पेड्रीलाई नयाँ सम्झौतामा मनाउन सफल भएको बार्सिलोना प्रशासनको चाहना थियो, फातीले चाँडो भन्दा चाँडो नयाँ सम्झौतामा हस्ताक्षर गरुन् । फातीले पनि बार्सिलोनालाई धोका दिन चाहेनन् । सम्झौता नवीकरण गर्नुअघि पनि उनले पटक पटक भनेका थिए, म बार्सिलोनामै रहन चाहन्छु । 

बार्सिलोनासँग सम्झौता नवीकरण गर्नुअघि फातीलाई युरोपका केही ठूला क्लबले स्थान्तरण प्रस्ताव नराखेका होइनन् । ती क्लबहरूको सूचीमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि थियो भनिएको छ । स्पेनको अखबार मुन्डो डेपोर्टिभोले फातीलाई स्थान्तरणका लागि करिब तीन करोडको प्रस्ताव गरेका बताएको छ । उनलाई वार्षिक रूपमा एक करोड ५० लाख तलब दिने प्रस्ताव पनि पीएसजीले राखेको बताइएको छ ।


Author

थप समाचार
x