फुटबल

एमबाप्पेको सट्टामा डेम्बेले अनुबन्ध गरेर हामीले गल्ती गरेका थियौँः बार्सिलोना पूर्वअध्यक्ष बार्तोमेउ

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १७:४५ बजे

काठमाडौँ- फ्रान्सका औसमाने डेम्बेले र किलियान एमबाप्पे लगभग एकै समयमा युरोपियन क्लब फुटबलमा उदाएका हुन् । फ्रेन्च क्लब रेनका उत्पादन डेम्बेले जर्मनीको बोरुसिया डर्टमन्ड हुँदै बार्सिलोना पुगे भने एमबाप्पेले जन्मभूमी छाडेका छैनन् । उनी अहिले पनि फ्रान्समै छन् । 

जब यी दुई खेलाडीले आफ्नो खेल कौशलका आधारमा लोकप्रियता कमाउँदै थिए तब युरोपका ठूला क्लबहरू उनीहरूलाई अनुबनध गर्न तम्सिए । यही दौडमा मिसियो बार्सिलोना पनि । सन् २०१७ मा बार्सिलोनाले डेम्बेले छान्यो । डर्टमन्डमा सनसनी मचाइरहेका विंगर डेम्बेलेका लागि बार्सिलोनाले १० करोड युरोभन्दा बढी खर्च गर्‍यो । 


बार्सिलोनाले डेम्बेले अनुबन्ध गर्दा क्लब अध्यक्ष थिए, जोसेप मारिया बार्तामेउ । जसले गत वर्षमात्रै पद त्याग गरेका थिए । उनै बार्तोमेउले एमबाप्पेलाई छाडेर डेम्बेले अनुबन्ध गरेर आफूहरूले गल्ती गरेको बताएका छन् । ‘त्यसबखत हामीसँग एमबाप्पे अनुबन्ध गर्ने विकल्प थियो । हामी उनीसँग कुरा गरिरहेका पनि थियौँ । तर बार्सिलोनाका प्रशिक्षकहरूले डेम्बेले छाने । यसकारण अन्ततः हामी डेम्बेलेमाथि केन्द्रित भयौँ,’ बार्तोमेउले स्पेनी अबखार एएससँग भनेका छन् । 

बार्तोमेउको कार्यकालमा अनुबन्धित अर्का खेलाडी पनि प्रभावकारी साबित हुन सकेका छैनन् । ती हुन्, फिलिप्पे कौउटिन्हो । ब्राजिलका यी प्लेमेकरका विषयमा पनि बार्तोमेउले मुख खोलेका छन् । 

‘जब हामीले कौउटिन्हो र डेम्बेलेलाई क्लबमा भित्र्यायौँ तब ताली बजाइयो । आन्दे्रस इनिएस्टाले बार्सिलोना छाड्दै गरेकाले हामीले कौउटिन्होलाई अनुबन्ध गर्न जरुरी थियो । उनी त्यसबेला इंग्लिस प्रिमियर लिगकै उत्कृष्ट खेलाडी थिए । अनि नेयमारको स्थानमा डेम्बेले ल्याइएको हो । दुर्भाग्यवश, यी दुवै खेलाडी बार्सिलोनाका लागि पफिल हुन सकेका छैनन् । फुटबलमा सबै स्थान्तरण सही साबित हुन्छन् भन्‍ने छैन’ बार्तोमेउले भनेका छन् । 

डेम्बेलेको बार्सिलोना करियर चोटका कारण सफल हुन सकेको छैन । उनी अहिले पनि मैदान बाहिर नै छन् । युरो २०२० दौरान घाइते भएका डेम्बेले कहिले टिममा फर्कन्छन्, अत्तोपत्तो छैन । क्याट्लन क्लबसँगको उनको सम्झौता यही सिजनको अन्त्यमा सकिँदैछ । उता कौटिन्होले पनि गत सिजन चोटकै कारणले ३७ खेल गुमाएका थिए । उनले पनि बार्सिलोना छाड्ने हल्ला चलिरहेको छ ।  

डेम्बेलेको बार्सिलोनासँगको भविष्य अनिश्चित रहँदै गर्दा, एमबाप्पे पनि नयाँ क्लबको खोजीमा छन् । उनलाई अनुबन्ध गर्न रियल म्याड्रिड इच्छुक छ । गत जनवरीमा रियलले पीएसजीसमक्ष प्रस्ताव पनि राखेको थियो । तर फ्रेन्च क्लबले रियलको प्रस्ताव स्विकार गरेन । चिरपरिचित प्रतिद्वन्द्वी रियल एमबाप्पेलाई अनुबन्ध गर्न अघि बढिरहँदा बार्सिलोना भने डेम्बेलेलाई सित्तैमा गुमाउने अवस्थामा छ । 


Author

थप समाचार
x