फुटबल

हारको जिम्मेवारी लिन्छु तर राजीनामा दिन्‍न: युनाइटेड प्रशिक्षक सोल्स्यार

इकागज |
कात्तिक ८, २०७८ सोमवार १७:५३ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा लिभरपुलसँग पराजित भयो । ओल्ड ट्राफोर्डमा युनाइटेडले चिरपरिचित प्रतिद्वन्द्वी लिभरपुलसँग पाँच गोल खायो भने एक गोल पनि फर्काएन । लज्जास्पद हारपछि युनाइटेडका समर्थकले आफ्ना प्रशिक्षक ओले गनर सोल्स्यारको राजीनामा मागिरहेका छन् । 

तर सोल्स्यारले भने आफूले राजीनामा नदिने बताएका छन् । अनि एक कदम अघि बढेर सोल्स्यारले प्रतिक्रिया दिएका छन्, ‘युनाइटेडका लागि उपयुक्त प्रशिक्षक नै म हुँ,’ युनाइटेडको अवस्था सुधार्नका लागि आफू सक्षम रहेको सन्देश दिएका छन्, सोल्स्यारले । सोल्स्यार आत्मविश्वासी देखिए पनि युनाइटेडको समस्या गहिरिँदो छ । युनाइटेडका समर्थकले पहिलो हाफ सकिन साथ आफ्ना खेलाडीहरूको विरोध गरेका थिए । दोस्रो हाफमा लिभरपुलका मोहम्मद सलाहले ह्याट्रिक पूरा गरेपछि त ओल्ड ट्राफोर्डमा उपस्थित युनाइटेड समर्थक बाहिरिन थालेका थिए । 


‘युनाइटेडमा रहेका समस्या समाधान गर्न सक्छु भन्नेमा विश्वास छ । टिमका रुपमा हामीले निकै लामो यात्रा तय गरेका छौँ । अपेक्षा गरे अनुसारको नतिजा आइरहेको छैन । तर हामी लक्ष्यको नजिक छौँ,’ सोल्स्यारले भनेका छन्, ‘लिभरपुलसँगको हारले हाम्रो आत्मविश्वासमा गिरावट आएको छ । तर हामीले आउँदा खेलहरुका लागि आफूलाई तयार गर्नुपर्ने छ । अर्को साता हामीले टोटनहमको सामना गर्दैछौँ । च्याम्पियन्स लिगमा एटलान्टा र लिगको अर्को खेलमा म्यानचेस्टर सिटीसँग पनि प्रतिस्पर्धा गर्नुछ । यी सबै खेललाई मध्यनजर गरेर हामीले अभ्यास गर्नु पर्नेछ ।’ 

युनाइटेडमाथिको ठूलो अन्तरको जित लिभरपुलका लागि अनेक कोणबाट ऐतिहासिक रह्यो । सन् १९२५ यता लिभरपुलले पहिलो पटक ओल्ड ट्राफोर्डमा ठूलो अन्तरको जित हासिल गरेको हो । त्यसअघि सन् १८९५ मा मात्रै लिभरपुलले युनाइटेडलाई उसको मैदानमा भारी अन्तरले पराजित गर्न सकेको थियो ।  

इंग्लिस फुटबलको दोस्रो सफल क्लबसँग आफू नेतृत्वको सर्वाधिक सफल क्लबले पराजय भोगेपछि सोल्स्यार भावुक पनि देखिन्थे । त्यही भएर उनले भनिहाले, ‘मेरा लागि यो अहिलेसम्मकै अँध्यारो दिन हो । हामी लिभरपुलभन्दा कमजोर देखियौँ । हामीले लिभरपुललाई धेरै मौका दियौँ । लिभरपुल जस्तो बलियो टिमलाई मौका दिए, गोल खाइन्छ नै । म निराश छु । बेखुश पनि छु । म यो हारको जिम्मेवारी पनि लिन्छु,’ सोल्स्यारले भने । 


Author

थप समाचार
x