फुटबल

यू-२३ एसियन कप छनौट : बलियो इरानसँग नेपालको हार

इकागज |
कात्तिक ८, २०७८ सोमबार १९:३१ बजे

काठमाडौँ- एएफसी यू-२३ एसियन कपको छनौट खेल्न ताजिकस्तान पुगेको नेपाली युवा टिमले पहिलो खेलमा हार बेहोरेको छ । ताकिस्तानको राजधानी डुसान्बेस्थित पामिर रंगशालामा भएको खेलमा नेपाल इरानसँग ४–० ले पराजित भयो ।  समूह बी अन्तर्गतको यो खेलमा नेपालले चारै गोल दोस्रो हाफमा खाएको थियो । हारसहित नेपाल समूहको पुच्छारमा छ भने इरान शीर्षस्थानमा छ । समूहमा नेपाल र इरानबाहेक ताजिकस्तान र लेबनन पनि छन् । 

नेपालले अब दोस्रो खेलमा घरेलु टिम ताजिकस्तानको सामना गर्नेछ । यो खेल आगामी बिहीबार पामिरमै हुनेछ । छनौट चरणको अन्तिम खेलमा भने नेपालको भेट लेबनानसँग हुनेछ । उमेर समूहको एसियन कप आगामी जुनमा मध्य एसियाको उज्वेकिस्तानमा हुँदैछ । जहाँ एसिया महादेशका कुल १६ टिमले भाग लिनेछन् । छनौटमा ४२ टिमले भाग लिएका छन् ।


आयोजकका रुपमा प्रतियोगितामा पहिल्यै आफ्नो स्थान सुरक्षित गरिसकेको उज्वेकिस्तान पनि छनौटमा सहभागी छ । तर छनौटमा प्राप्त गर्ने नतिजाले आयोजक टिमलाई कुनै फरक पर्ने छैन । छनौटमा भाग लिइरहेका टिमलाई ११ समूहमा विभाजित गरिएको छ । समूह विजेता बन्ने ११ टिम र उत्कृष्ट उप–विजेता ठहर हुने चार टिम प्रतियाेगिताका लागि छनाैट हुने छन् । नेपालले अहिलेसम्म यू–२३ एसियन कप खेल्ने मौका पाएको छैन ।  


Author

थप समाचार
x