फुटबल

रियल म्याड्रिडमा हाजार्डभन्दा अरू खेलाडीको प्रदर्शन राम्रो छः एनसिलोट्टी

इकागज |
कात्तिक १०, २०७८ बुधबार १४:२२ बजे

काठमाडौँ- गत आइतबार क्याम्प नौउमा भएको एल क्लासिकोमा रियल म्याड्रिड विजयी बन्यो । साे खेलमा रियलका प्रशिक्षक कार्लो एनसिलोट्टीले कप्तान करिम बेन्जेमाका साथै भिनिसियस जुनियर र रोड्रिगोलाई फरवार्ड लाइनको जिम्मा दिएका थियो । ब्राजिलका दुई युवा विंगरले पाका बेन्जेमालाई सघाउँदा टिमका महंगा विंगर एडेन हाजार्ड भने बेन्चमै रहे । 

यसै सिजन रियलको जिम्मेवारी पाएका एनसिलोट्टीले हाजार्डलाई प्रमुख रोजाईको विंगर बनाएका छैनन् । हाजार्डले नयाँ सिजनमा चार लिग खेलको पहिलो एघारमा मौका पाएका छन् । चोटका कारण केही खेल गुमाएका हाजार्डले रियलका आगामी खेलमा पनि मुख्य भूमिका पाउन गाह्रो छ । यसको कारण, भिनिसियस र रोड्रिगोको वर्तमान लय नै हो । 


‘हाजार्ड प्रतिभाशाली खेलाडी भएकोमा शंका छैन । उनमा रियल जस्तो ठूलो टिमका लागि खेल्ने खेलाडीमा हुनुपर्ने सबै गुण छ । तर हालका लागि उनीको भन्दा अरु खेलाडीकै प्रदर्शन बलियो रहेको छ । यसकाकारण उनले मौकाका लागि धैर्य हुन आवश्यक छ,’ एनसिलोट्टीले हाजार्डमाथि टिप्पणी गरेका छन् । 

हाजार्डले मौकाका लागि पर्खनुपर्ने भनिरहँदा एनसिलोट्टीले भिनिसियसको भने तारिफ गरेका छन् । ‘भिनियिस कुशल खेलाडी हुन् । युवा नै भएकाले अनुभव कम छ । यद्यपि उनी अत्यन्तै मेहेनत गरिरहेका छन् । उनी तीब्र गतिमा खेल्न सक्छन् । उनले लामो बाटो तय गर्नुछ तर उनको भविष्य उज्जवल हुने अनुमान गर्न गाह्रो छैन,’ एनसिलोट्टीले भने । 

रियल हाल ला लिगाको दोस्रो स्थानमा छ । रियलले नौ खेलबाट २० अंक बनाएको छ । एक खेल बढी खेलेको रियल सोसिडाडको २१ अंक छ । रियलले बुधबार राति ओसासुनाको सामना गर्दैछ । छैटो स्थानमा रहेको ओसासुनाले रियलसमक्ष बलियो चुनौती पेश गर्ने अनुमान गरिएको छ । 


Author

थप समाचार
x