फुटबल

खेलाडीलाई कोभिड खोप अनिवार्य गर्न सकिँदैन : बायर्न म्युनिख

इकागज |
कात्तिक १०, २०७८ बुधवार १५:१३ बजे

काठमाडौँ- गत शनिबार बुन्डेसलिगामा बायर्न म्युनिखले होफेनहाइमलाई पराजित गर्‍यो । बायर्नका प्रशिक्षक युलियान नागल्सम्यानको नेतृत्वमा रहेको बायर्नले उनको पूर्वक्लबविरुद्ध जित हासिल गर्दा सञ्चारमाध्यममा यसको चर्चा हुने नै भयो । योबाहेक बायर्न अर्को कारणले पनि अखबारको हेडलाइन बन्यो । कारण थिए, फुलब्याक जोसुवा किमिच । 

खेलपछि किमिचले दिएको अभिव्यक्तिका कारण सञ्‍चार माध्यममा बायर्नको चर्चा भएको हो । होफेनहाइमसँगको खेलपछि किमिचले भने, ‘मैले कोभिड–१९ विरुद्धको खोप लगाएको छैन । खोपको दीर्घकालीन असरबारे पर्याप्त अध्ययन नभएका कारण मैले खोप नलगाएको हो । यद्यपि म प्रत्येक दुई वा तीन दिनमा कोभिड प्रशिक्षण गराइरहेको छु । खोप लगाउने वा नलगाउने, निर्णय व्यक्तिमा भर पर्छ।’ 


किमिचको यस्तो अभिव्यक्तिले किमिचको त आलोचना भयो नै बायर्नको पनि आलोचना भइरहेको छ । फुटबलरलाई समाजमा आइडल मानिने भएकाले किमिचको अभिव्यक्ति र निर्णय सही नभएको भनिँदैछ । चर्को आलोचना खेप्नु परेपछि बायर्नले मुख खोलेको छ । 

खोप लगाउने अभियानलाई आफ्नो पूर्ण समर्थन रहेको तर खेलाडीहरूलाई खोप लगाउन बाध्य पार्न भने नसकिने बायर्नको भनाइ छ । ‘हामी सबै खेलाडीलाई खोप लगाउने सुभलाव दिन सक्छौँ । तर यसलाई नियम बनाउन भने सक्दैनौँ । सबैको आ–आफ्नो विचार हुनसक्छ, त्यसलाई हामीले सम्मान गर्नुपर्छ,’ बायर्नका कार्यकारी अधिकृत ओलिभर कानले भनेका छन् । 

उता क्लब अध्यक्ष हेरबेर्ट हेइनरले पनि खेलाडीहरूको व्यक्तिगत निर्णयलाई सम्मान गर्नेबाहेकको विकल्प नरहेको बताएका छन् । ‘किमिचले भविष्यमा खोप लगाउने भनेका छन् । आशा छ, उनले कुनैदिन खोप लगाउने छन् । बायर्न म्युनिख खोप कार्यक्रमको समर्थन गर्छ । यसमा कुनै शंका छैन,’ हेइनरले भने । यसैबीच जर्मन फुटबल लिग (डीएफएल)ले जर्मनीका शीर्ष दुई लिग खेल्ने क्लबका ९० प्रतिशत खेलाडी तथा स्टाफले खोप लगाइसकेको प्रष्ट पारेको छ । 


Author

थप समाचार
x