फुटबल

दुई पूर्वखेलाडीको भिडन्तमा जेरार्ड विजयी

इकागज |
मंसिर १२, २०७८ आइतवार १३:२४ बजे

काठमाडौँ- आर्सनलका पूर्वखेलाडी प्याट्रिक भिएराले यसै सिजनदेखि क्रिस्टल प्यालेसको जिम्मेवारी सम्हाल्न सुरु गरेका हुन् । खेलाडीका रुपमा इंग्लिस प्रिमियर लिगमा प्रख्याति कमाएका भिएराले प्यालेसमा सन्तोषजनक नतिजा दिएका छन् । उनको नेतृत्वमा प्यालेसले यो सिजन म्यानचेस्टर सिटी र टोटनहम जस्ता टिमलाई स्तब्ध बनाएको छ । 

पछिल्ला सात लिग खेलमा अपराजित प्यालेसले शनिबार राति एस्टन भिल्लाको सामना गर्‍यो । प्यालेसकै मैदानमा भएको खेलमा स्टिभन जेरार्ड प्रशिक्षक रहेको भिल्लाले २–१ को जित हासिल गर्‍यो । जेरार्ड प्रशिक्षक बनेपछि भिल्लाले दर्ता गरेको यो दोस्रो जित हो । उता प्यालेसका लागि भने यो घरेलु मैदानमा बेहोरेको पहिलो हार हो । 


भिल्लाका लागि माट टार्गेट र जोन म्याकगिनले एक–एक गोल गरे । प्यालेसका तर्फबाट मार्क गेहीले गोल गरे । जितसँगै भिल्ला ११ औँ स्थानमा उक्लेको छ । उता प्यालेस भने १० औँ स्थानमा यथावत छ । 

भिल्लाले २३ वर्षमा पहिलो पटक नयाँ प्रशिक्षकको प्रशिक्षणमा लगातार दुई जित हासिल गरेको हो । ‘हामी बलियो लयमा छौँ । तर फुर्किने समय भइसकेको छैन । खेलाडीहरूले राम्रो गरिरहेका छन् । प्यालेससँगको खेल सजिलो थिएन । यद्यपि हामीले जित भने निकाल्यौँ,’ गत नोभेम्बर ११ मा भिल्लाका प्रशिक्षक बनेका जेरार्डले भने । 


 
 


Author

थप समाचार
x