फुटबल

बुन्डेसलिगामा हालान्डको नयाँ कीर्तिमान

इकागज |
मंसिर १२, २०७८ आइतबार १७:११ बजे

काठमाडौँ- युवा स्ट्राइकर एर्लिङ हालान्डले बुन्डेसलिगामा पछिल्ला चार खेल गुमाए । नयाँ सिजनको बुन्डेसलिगामा पहिलो खेलमै दुई गोल गरेका हालान्डले त्यसपछिका खेलमा पनि उही लय कायम राखे । तर लिगको छैटो सातौँ खेल भने उनले चोटका कारण गुमाए । मेन्जविरुद्धको खेलमा बोरुसिया डर्टमन्डको पहिलो एघारमा फर्किएका हालान्डले फेरि चोट बोके । र त्यसपछिका चार खेलमा अनुपस्थित रहे । 

शनिबार राति उनी पुनः मैदान फर्किए । उल्फ्सबर्गसँगको खेलमा डर्टमन्डलाई विजयी बनाउन उनले एक गोल गरे । भोक्सवागन ऐरिनामा भएको खेल डर्टमन्ड ३–१ ले जित्यो र दोस्रो स्थानमाथिको आफ्नो पकड बलियो बनायो । डर्टमन्डको खातामा १३ खेलबाट ३० अंक छ । शीर्षस्थानको बायर्न म्युनिखसँग ३१ अंक छ । 


बुन्डेसलिगामा एक छत्र दबदबा राखेको बायर्नलाई कसैले चुनौती दिन सक्छ भने, त्यो क्लब डर्टमन्ड नै हो । यसपालि पनि सधाझैँ लिग उपाधि दाबेदार मानिएको डर्टमन्डका लागि बायर्नलाई पछ्याउन सजिलो छैन । गत सिजनको निर्णायक अंक तालिकाले यसको पुष्टि गरिसकेको छ । त्यसबेला डर्टमन्ड तेस्रो स्थानमा सीमित भएको थियो भने बायर्नसँगको दूरी १४ अंकको रह्यो । 

यसपालि पनि बायर्नलाई सुरुवातबाटै टक्कर दिइरहेको छ, डर्टमन्डले । र, यसका लागि उसलाई हालान्डले सहयोग गरिरहेका छन् । भलै उनले चोटका कारण ६ लिग खेल गुमाइसकेका छन् । उनको अनुपस्थितीमा डर्टमन्ड दुई खेलमा पराजित रह्यो । जसले गर्दा शीर्षस्थानमा रहिरहने डर्टमन्डको लक्ष्यमा धक्का पुग्यो । 

तर हालान्डको पुनरागमनले डर्टमन्डका प्रशिक्षक मार्को रोस दंग देखिएका छन् । ७२ औँ मिनेटमा मैदान छिरेका हालान्डले ८१ औँ मिनेटमै गोल गरेपछि रोसले नर्वेजियन स्ट्राइकर आफ्नो टिमका लागि निार्णयक खेलाडी रहेको प्रतिक्रिया दिए । ‘एर्लिङले टिमलाई उर्जा दिन्छन् । उनी जब मैदान प्रवेश गर्छन्, तब गोल गरिहाल्छन् । अन्य खेलाडी र उनीबीचको फरक यही हो,’ रोसले भने । 

उल्फ्सबर्गविरुद्धको गोल हालान्डका लागि ५० औँ बुन्डेसलिगा गोल थियो । योसँगै उनी बुन्डेसलिगाको इतिहासमै ५० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यस्तो कीर्तिमान उनले ५० खेल खेलेर पूरा गरेका हुन् । यसअघि यो कीर्तिमान टिमो कोनिएनज्काको नाममा थियो । उनले ५० गोल पूरा गर्न ६३ खेल खेलेका थिए ।  
 
 


Author

थप समाचार
x