फुटबल

अहिलेका लागि युनाइटेड मेरो रणनीतिमा खेल्छः माइकल क्यारिक

इकागज |
मंसिर १३, २०७८ सोमबार १३:५४ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेले । स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा जेडोन सान्चोको गोलमार्फत युनाइटेडले अग्रता लिए पनि चेल्सीले गोल फर्काउदै खेल बराबरीमा ल्यायो । चेल्सीका लागि जोर्गिन्होले पेनाल्टीमा गोल गरेका थिए । बराबरीका बाबजुत चेल्सी पहिलो स्थानमै छ । युनाइटेड भने १८ अंकका साथ आठौँ स्थानमा छ । 

ओले गनर सोल्स्यार बर्खास्तीमा परेपछि युनाइटेडले खेलेको यो दोस्रो खेल हो । सोल्स्यारलाई माइकल क्यारिकले प्रतिस्थापन गरेका छन् । जर्मन प्रशिक्षक राल्फ राग्निक युनाइटेडको प्रशिक्षक बन्ने लगभग पक्का भए पनि उनको नियुक्ति भइनसकेको हुँदा टिमको जिम्मेवारी क्यारिकको काँधमा छ । सोल्स्यारका सहायक रहँदै आएका क्यारिकले कामचलाउ प्रशिक्षकको जिम्मेवारी पाएपछिको पहिलो खेलमा युनाइटेडले भिल्लायारियललाई पराजित गरेको थियो । च्याम्पियन्स लिगको खेलमा युनाइटेड २–० ले विजयी बनेको थियो ।


दोस्रो खेलमा भने क्यारिक बराबरीमा रोकियो । यो नतिजामा क्यारिक सन्तुष्ट देखिएनन् । ‘हामी यहाँ जितको उदेश्यका साथ आएका थियौँ । खेलमा अग्रता पनि लिन सक्यौँ । तर जित हात पारेन । यसले मलाई निराश बनाएको छ,’ खेलपछि क्यारिकले भने । 

चेल्सीसँगको खेलका लागि राग्निकबाट भने कुनै किसिमको सल्लाह नलिइएको पनि क्यारिकको भनाइ थियो । डिसेम्बर २ भन्दा अगाडि नै राग्निक युनाइटेड पुग्ने बताइएकाले क्यारिकलाई टिममा राग्निकको प्रभावबारे सोधिएको थियो । हालका लागि युनाइटेडले राग्निकको नभई आफ्नो रणनीति खेल्ने क्यारिकले स्पष्ट पारे । 

 


Author

थप समाचार
x