फुटबल

बालोन डोर विजेताको छिनोफानो आज

इकागज |
मंसिर १३, २०७८ सोमबार १४:४९ बजे

काठमाडौँ- विश्व फुटबलमा सुप्रसिद्ध मानिने बालोन डोर अवार्ड समारोह फ्रान्सको पेरिसमा सोमबार राति आयोजना हुँदैछ । फ्रान्सको फुटबल म्यागजिन फ्रान्स फुटबलले प्रत्येक वर्ष प्रदान गर्ने अवार्ड सन् २०२० मा स्थगित भएको थियो । यसको कारण कोभिड–१९ महामारी थियो । 

यसपालि भने बालोन डोर फर्किदैछ । बालोन डोरको मनोनयनमा ३० पुरुष तथा २० महिला खेलाडी परेका छन् । यस्तो सूची फ्रान्स फुटबल म्यागजिन आफैँले तयार पारेको हो । सूचीमा भएका खेलाडीलाई १८० देशका पत्रकारले आ–आफ्नो भोट दिइसकेका छन् । नोभेम्बर २४ भित्र भोट दिन ती पत्रकारहरुलाई भनिएको थियो । यही मतदानको नतिजा सोमबार प्रकाशित गर्न लागिएको हो । 


वर्षका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीबाहेक सर्वोत्कृष्ट युवा खेलाडी तथा गोलरक्षक पनि घोषणा गरिनेछ । व्यक्तिगत प्रदर्शन तथा उपाधि संख्या, खेलाडीको प्रीतभा र उसको समग्र करियरलाई मध्यनजर गरेर सूची तयार गर्ने र भोट दिने गरिन्छ । 

पछिल्लो पटक पुरुषतर्फको बालोन डोर जितेका खेलाडी हुन्, लियोनल मेस्सी । यसपालि उनी नै प्रमुख दाबेदार हुन् । उनी ६ पटक बालोन डोर विजेता बनिसकेका छन् । उनीपछि सबैभन्दा धेरै पटक बालोन डोर जित्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् । उनी पाँच विजेता रहिसकेका छन् । महिलातर्फ भने बार्सिलोनाकी एलेक्सिया पुटेलासलाई दाबेदारका रुपमा लिइएको छ । 

मनोनयनमा परेका खेलाडीः सिजर आज्पिकुएल्टा (चेल्सी), निकोलो बरेला (इन्टर मिलान), करिम बेन्जेमा (रियल मड्रिड), लियानार्दो बोनुची (युभेन्टस), केभिन डे ब्रुएना (म्यानचेस्टर सिटी), जिर्योजियो किलिनी (युभेन्टस), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), रुबेन डायस (म्यानचेस्टर सिटी), जियानलुइजी डोनारुमा (पेरिस सेन्ट जर्मेन), बु्रनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड), फिल फोडन (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (बोरुसिया डर्टमन्ड), जोर्गिन्हो (चेल्सी), ह्यारी केन (टोटनहम), एन्गोलो कान्टे (चेल्सी), सिमोन काएर (एसी मिलान), रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख), रोमेलु लुकाकु (चेल्सी), रियाद माहेरेज (म्यानचेस्टर सिटी), लाउटारो मार्टिनेज (इन्टर मिलान), किलियान एम्बाप्पे (पेरिस सेन्ट जर्मेन), लियोनल मेस्सी (पेरिस सेन्ट जर्मेन), लुका मोड्रिच (रियल मड्रिड), जेरार्ड मोरेनो (भिल्लारियल), म्यासन माउन्ट (चेल्सी), नेयमार (पेरिस सेन्ट जर्मेन), पेड्री (बार्सिलोना), मोहम्मद सलाह (लिभरपुल), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी) र लुइस स्वारेज (एट्लेटिको मड्रिड) 

 
 


Author

थप समाचार
x