फुटबल

बालोन डोर वरीयतालाई गिज्याउँदै मोहम्मद सलाह

इकागज |
मंसिर १६, २०७८ बिहीबार ११:२ बजे

काठमाडौँ- यसपालिको बालोन डोर विजेताको छिनोफानो भइसकेको छ । अर्जेन्टिनाबाट कोपा अमेरिका जितेका लियोनल मेस्सीलाई सातौँ पटक बालोन डोर उपाधि दिइएको छ । मेस्सीले आफ्ना निकटतम प्रतिद्वन्द्वी रोबर्ट लेवान्डोस्कीलाई पछि पारे । हुन त यी दुईमध्ये एकले बालोन डोर जित्‍ने अनुमान पहिले नै गरिएको थियो । 

पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखका फरवार्डद्वय शीर्ष दुईमा रहँदा चेल्सी तथा इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो स्थानमा रहे । उनले यसै वर्ष इटालीबाट युरो जितेकाले कतिपयले उनलाई पनि बालोन डोरको दाबेदार मानेका थिए । 


केही वर्षअघिसम्म मेस्सीलाई बालोन डोर उपाधिका लागि चुनौति दिने क्रिस्टियानो रोनाल्डो भने छैटो स्थानमा रहे । उनीजस्तै इंग्लिस प्रिमियर लिग खेल्ने मोहम्मद सलाहको वरीयता सातौँ स्थान रह्यो । सलाहको बालोन डोरको वरीयतालाई लिएर प्रशन उठाइएको छ । विशेषगरी अफ्रिकी समर्थक सलाह बालोन डोरको वरीयतामा माथि हुनुपर्ने जिकिर गरिरहेका छन् । 

यिनै सलाहले बुधबार राति एभरटनविरुद्ध दुई गोल गरे । लिभरपुलले ४–१ को अन्तरले जितेको खेलमा सलाहले आफूलाई पुनः विश्व फुटबलको उत्कृष्ट फरवार्डहरूमध्येको एकका रुपमा पुष्टि गरे । यो सिजन सलाहले १४ लिग खेलमा १३ गोल गरिसकेका छन् । उनको नाममा आठ असिस्ट पनि छ । 

सलाहको लय र बालोन डोरमा उनले प्राप्त गरेको स्थानबारे अन्तर्राष्ट्रिय फुटबल वेबसाइट गोलले लेखेको छ । उसका संवाददाता निल जोन्स लेख्छन्, ‘बालोन डोरको वरीयता अनुसार सलाह विश्वका सातौँ उत्कृष्ट खेलाडी हुन् । सलाहलाई दिइएको वरीयता आफैँमा मजाक हो । हाल उनीभन्दा राम्रो खेलिरहेका अरु खेलाडी छैनन् । यदि कोही छन् भने उनीहरु लुकिरहेको हुनुपर्छ ।’

लिभरपुल पुगेको पहिलो सिजन नै सलाहले कुल ४४ गोल गरेका थिए । हालको लय कायम रहे उनको गोल संख्या पहिलो सिजनकै जति हुने अनुमान गर्न गाह्रो छैन ।  

 


Author

थप समाचार
x