फुटबल

विदेशी खेलाडीले गरे मनाङको उद्धार

इकागज |
मंसिर १८, २०७८ शनिबार १५:२६ बजे

काठमाडौँ- सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगमा शनिबारको पहिलो खेलमा संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लबले बराबरी खेलेका छन् । आतिरिक्त समयमा मनाङका फ्रान्कलिन कुएटे टाल्लाले गोल गरेपछि मनाङले संकटालाई २–२ को बराबरीमा रोक्न सफल भयो । 

खेलमा संकटाले ३१ औँ मिनेटमा अग्रता लिएको थियो । लक्ष्मण रुचालको फ्रिकिकमा निरज बस्नेतले हेडर गोल गरेपछि खेलमा संकटा अघि बढेको थियो । तर त्यसको चार मिनेटपछि नै मनाङ खेलमा फर्कियो । उसका लागि दयानन्द सिंहले गोल गरे । 


दोस्रो हाफको ७० औँ मिनेटमा संकटाले फेरि अग्रता लियो । संकटाका लागि उत्तम राईले गोल गरे । खेलमा दोस्रो भारतीय गोलकर्ता बन्ने क्रममा उत्तमले पनि हेडर गोल नै गरे । जिततर्फ लम्किरहेको संकटालाई इन्जुरी समयमा झड्का लाग्यो । मनाङका अर्का विदेशी खेलाडी फ्रान्कलिनले १८ यार्ड बक्सभन्दा बाहिरबाट सुन्दर गोल गरे । 

यो बराबरीसँगै मनाङको तीन खेलबाट सात अंक भएको छ । उ लिगको दोस्रो स्थानमा छ । उता संकटाको खातामा पाँच अंक छ । यससँगै संकटा तेस्रो स्थानमा उक्लेको छ । 
 


Author

थप समाचार
x