फुटबल

सहिद स्मारक लिगः एनआरटी फेरि बराबरीमा रोकियो

इकागज |
मंसिर १८, २०७८ शनिवार १८:५८ बजे

काठमाडौँ- काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले लगातार दोस्रो बराबरी खेलेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एनआरटी च्यासल युथ क्लबसँग १–१ को बराबरीमा रोकिएको हो । यसअघि एनआरटी ब्रिगेड ब्याइज क्लबसँग पनि बराबरीमा रोकिएको थियो । 

शनिबारको दोस्रो खेलमा च्यासलले अग्रता लिएको थियो । रुमेश बर्तौलाले ४३ औँ मिनेटमा गोल गरेपछि च्यासल खेलमा अघि बढेको थियो । तर दोस्रो हाफको ७९ औँ मिनेटमा एनआरटी खेलमा फर्कियो । उसका लागि दिपेश घलेले बराबरी गोल गरे  ।


यो बराबरीसँगै एनआरटीको तीन खेलबाट दुई अंक भएको छ । च्यासलले भने चार अंक बटुलेको छ । अब आइतबार हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र ब्रिगेड ब्याइजबीच प्रतिस्पर्धा हुनेछ । 

 
 


Author

थप समाचार
x