फुटबल

नर्विचसँग हारेपछि एभरटनका प्रशिक्षक बेनिटेजको जागिर धरापमा

इकागज |
माघ २, २०७८ आइतबार १३:१८ बजे

काठमाडौँ- नर्विच सिटीले शनिबार राति इंग्लिस प्रिमियर लिगमा तेस्रो जित दर्ता गर्‍यो । नोभेम्बरयता एउटा खेल पनि नजितेको नर्विचले एभरटनलाई २–१ ले पराजित गरेको हो । नर्विचका लागि एडम इडाले गोल गरे । अर्को गोल भने उसले एभरटनका रक्षक माइकल किनबाट उपहार पायो । यी दुवै गोल पहिलो हाफको सुरुवाती २० मिनेटभित्र भएका थिए । 

दोस्रो हाफमा रिचारलिसनले एक गोल गरे पनि उनले एभरटनलाई खेलमा फर्काउन सकेनन् । जारी लिगमा एभरटनको यो १० औँ हार हो । नर्विचसँग पराजित भएपछि एभरटन १५ औँ स्थानमा छ । उसको खातामा १९ अंक छ । १६ औँ स्थानको लिड्स युनाइटेडको पनि १६ अंक नै छ । 


उता नर्विच भने रेलिगसन क्षेत्रमा यथावत छ । उसले २१ खेलबाट १३ अंक बटुलेको छ । रेलिगेसन क्षेत्रमा रहेका न्युकासल युनाइटेड र बर्नलीको क्रमशः १२ र ११ अंक छ । अंक तालिकाको पुच्छारमा रहेको बर्नलीले न्युकासलको भन्दा एक खेल र नर्विचको भन्दा चार खेल कम खेलेको छ । 

लिगमा लगातार दोस्रो हार खेपेपछि एभरटनका प्रशिक्षक राफाएल बेनिटेजको जागिर धरापमा परेको विश्लेषण गर्न थालिएको छ । एभरटनले पछिल्ला १० खेलमध्ये एकमा मात्रै जित हासिल गरेको छ । यस्तोमा बेनिटेज र एभरटन समर्थकबीचको दूरी बढिरहेको छ । 

‘यो हारले मलाई निकै उदास बनाएको छ । हामीले आफ्नै गल्तीका कारण दुई गोल खायौँ । निकै टाढा टाढाबाट हाम्रो खेल हेर्न आएका समर्थक निराश बने । यसमा म दुःखी छु । अब हामीसँग रहेको विकल्प भनेको अभ्यासमा मेहेनत गर्ने र अर्को खेलका लागि तयार रहने नै हो,’ नर्विचको मैदानमा भएको खेलमा पराजित भएपछि एभरटनका प्रशिक्षक बेनिटेजले भने । 

    
 


Author

थप समाचार
x