फुटबल

मालाबारमा गोल रोक्न सिकाउँदै मनीष

प्रविणबिक्रम कट्‍वाल |
माघ ४, २०७८ १५:३८ बजे

काठमाडौँ : आई-लिग भारतीय घरेलु फुटबलको दोस्रो श्रेणीको लिगमा घटुवा भएको धेरै समय भएको छैन । इन्डियन सुपर लिग (आईएसएल)ले पहिलो श्रेणीको दर्जा खोसे पनि आई–लिगको प्रतिस्पर्धाको स्तर घटेको छैन । एसियाली क्लब फुटबलको महत्वपूर्ण प्रतियोगिता एएफसी कपको समूह चरणमा सिधै स्थान बनाउँछन्, आई–लिग जित्ने क्लबले । यसले पनि आई–लिगको स्तर कहाँ छ भनेर प्रस्ट पार्छ । 

नेपालका केही खेलाडीले आई–लिगको अनुभव बटुलेका छन् । यो सूचीमा राष्ट्रिय टिमका कप्तान किरण कुमार लिम्बूदेखि पूर्वकप्तान अनिल गुरुङसम्म छन् । अनि नयाँ पुस्ताका प्रकाश बुढाथोकी र अभिषेक रिजालले पनि आई–लिगको स्वाद चाखिसकेका छन् । हाल इन्डोनेसियाको पहिलो श्रेणीको लिग खेलिरहेका रोहित चन्दले पनि आई–लिगमा आफूलाई स्थापित गरेकै हुन् । 


अहिले आएर भने नेपाली प्रशिक्षक पनि आई–लिगको क्लबसँग जोडिएका छन् । त्यो पनि गत सिजन च्याम्पियन बनेको, गोकुलम केरला फुटबल क्लबसँग । गोलरक्षक प्रशिक्षक मनीष तिम्सिना भारतको मालाबरसमेत भनिने दक्षिणी राज्य केरलाको यो क्लबमा गत गत अगस्टमै पुगेका हुन् । भारतीय लिगमा प्रशिक्षणको मौका पाउने मनीष पहिलो नेपाली हुन् । 

मनीष गोकुलमको प्रशिक्षक बन्ने चाँजोपाँजो मिलाएका हुन् क्लबका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबेर्टो एनेसले । इटालीका भिन्सेन्जोकै प्रशिक्षणमा गोकुलम गत सिजन पहिलो पटक आई–लिग विजेता बनेको हो । उनै भिन्सेन्जोले मनीषलाई ‘स्काउट’ गरेका हुन् । त्यो पनि लकडाउनको समयमा । 

विश्व फुटबल नै ठप्प रहेका बेला भर्चुअल माध्यममा थुप्रै कोचिङ कोर्स भइरहेका थिए । मनीष पनि लकडाउनको समयमा यस्ता केही कोर्समा सहभागी भए । यस्तै एउटा कोर्स जर्मन बुन्डेसलिगा क्लब अमिर्निया बिलेफेल्डले प्रदान गरेको थियो । यहाँ उनको  एसियाली गोलकिपिङ कोचको समूहसँग चिनजान भयो । भिन्सेन्जो तिनैमध्ये एक थिए ।  

‘हामी कोचिङकै विविध पक्षमा छलफल गथ्र्यौँ । गोलकिपिङ कोचिङको ढाँचामा पनि कुरा हुन्थ्यो । कुरा हुँदै जाँदा उहाँले सँगै काम गर्ने प्रस्ताव राख्नु भयो । उहाँ नयाँ गोलकिपिङ कोचको खोजीमा हुनुहुँदारहेछ । त्यसपछि उहाँले मेरो नाम क्लब प्रशासनमा प्रस्ताव गर्नु भयो । क्लबले उहाँको प्रस्ताव स्वीकार ग¥यो,’ हालै नेपालबाट केरला पुगेका मनीषले भने । 

मनीषका अनुसार उनलाई मुख्य प्रशिक्षक भिन्सेन्जोकै सिफारिसमा प्रशिक्षण अवसर मिलेको हो । किनभने मनीषले आफ्नो क्षमता देखाउनै पाएका थिएनन् । उनले यस्तो मौका अगस्ट २३ बाट मात्रै पाए । उनी केरलाको क्यालिकट सहर पुगेको भोलिपल्ट नै टिमको अभ्यासमा जोडिए । उनको पहिलो टे«निङ सेसन हेर्न भिन्सेन्जो मात्र होइन क्लब व्यवस्थापनमा रहेका सबै ईएमएस रंगशालामा उपस्थित थिए । 

‘मैले गराएको टे«निङ सेसन सबैलाई चित्त बुझ्यो । त्यसपछि बल्ल मेरो क्लबमा जिम्मेवारी कन्फर्म भयोे,’ मनीष सम्झिन्छन् । केरला आफैँमा फुटबल क्रेजी भारतीय राज्य हो । त्यस्तो भूगोलमा पुगेका मनीषको क्षमताप्रति गोकुलमका समर्थक सुरुमा विश्वस्त थिएनन् । ‘तर गोलरक्षकहरूले राम्रो प्रदर्शन गरेपछि मप्रति समर्थकको विश्वास जाग्यो । पछि त उनीहरू उपहार लिएर भेट्न आउन थाले,’ मनीषले सम्झिए । 

हुन त कोभिड–१९ महामारीका कारण आई–लिगमा पहिलो चरणका खेल मात्रै हुन सकेका छन् । डिसेम्बर २६ मा गोकुलमले नयाँ सिजनको पहिलो खेल खेलेको थियो । जसमा गोकुलमले चर्चिल बदर्सलाई पराजित गरेको थियो । कोलकाताका तीन रंगशाला प्रयोग गरेर ‘बायो बबल’मा लिगको सुरुवात भए पनि दोस्रो चरणका खेल भने हुन सकेनन् । जनवरीको पहिलो साताबाट लिग फेरि सुरु हुने भनिए पनि मैदानमा क्लब र खेलाडी फर्किसकेका छैनन् । यद्यपि मनीष भने क्लबले बोलाएपछि भारत गइसकेका छन् । 

गोकुलमले यसपालि आई–लिगमा जम्मा एक खेल मात्र खेलेको भए पनि प्रि–सिजनमा थुप्रै मैत्रीपूर्ण खेल खैल्यो । अनि डरान्ड कप र आईपी सिल्डलगायतका प्रतियोगितामा पनि भाग लियो । यी सबैमा गरी मनीषले नौ खेलको अनुभव बटुलिसकेका छन् । ‘मलाई लाग्छ मैले आफूलाई गोकुलममा प्रमाणित गरेको छु । नभए त म एक दुई महिनापछि नै नेपाल फर्किसकेको हुने थिएँ,’ मनीष भन्छन् । 

आफ्नो खेल करियरमा मनीष औसत गोलरक्षक थिए । नेपाली घरेलु फुटबलको शीर्ष लिग सहिद स्मारक ए डिभिजिनमा पनि उनले दुई सिजनभन्दा बढी खेलेनन् । उनले आरसीटी र स्वयम्भु क्लबबाट एक–एक सिजन ए डिभिजन लिग खेले । अनि हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ए डिभिजनमा बढुवा हुँदा उनी पनि ती टिमका सदस्य थिए । यी क्लबबाहेक उनले थ्रीस्टार क्लबबाट भारतको सिक्किममा हुने गभनर्स गोल्डकप पनि खेले । अनि भारतकै आसाममा राज्यस्तरको लिगमा पनि केही समय बिताए । 

मनीषको बुझाइमा राम्रा भनिएका खेलाडीले मात्रै प्रशिक्षण करियरमा सफलता हासिल गर्छन् भन्ने होइन । उनको बुझाइसँग असहमत हुने ठाउँ छैन । किनभने युरोपियन क्लब फुटबल वा विश्व फुटबलमा सफलता हासिल गरेका कयौँ प्रशिक्षक आफ्ना जमानाका चर्चित खेलाडी होइनन् । कतिले व्यवसायिक लिग पनि खेलेका थिएनन् । यस्तो तथ्यले मनीषलाई प्रशिक्षणमा लाग्न रोक्ने कुरा भएन । उनी रोकिएनन् पनि । 

बीबीसीमा हुँदा नै मनीषले एएफसीको ‘सी’ प्रशिक्षण लाइसेन्स पाइसकेका थिए । यो प्रमाणपत्रले उनलाई राष्ट्रिय लिगमा खेल्न लागेको मोरङ एघारको सहायक प्रशिक्षक बनायो । विराटनगरको यो क्लबमा एक सिजन काम गरेपछि त्यही सहरका मनीषले आफ्नो प्रशिक्षण करियरलाई अगाडि बढाउने निधो गरे । र, यसका लागि उनले प्रशिक्षणका लागि आवश्यक पर्ने कोचिङ कोर्स गर्न छाडेनन् । फलतः गत वर्ष उनले एएफसी ‘ए’ लाइसेन्स पाए । यसबाहेक उनले गोलरक्षक प्रशिक्षकलाई चहिने कोर्स पनि गरेका छन् । उनले एएफसीकै ‘गोलकिपिङ कोचिङ कोर्स लेभल टु’ पनि गरेका छन् । 

‘लेभल टु’ चाहिँ उनले गोकुलमसँग आबद्ध भइसकेपछि भारतमै गरेका हुन् । त्यो पनि गोकुलमकै सिफारिसमा । भारतको पन्जाबमा सञ्चालन गरिएको सो कोर्सका लागि २४ भारतीय प्रशिक्षकका लागि स्थान थियो । तर गोकुलमकै जोडबलमा मनीषले अवसर पाए । 

आई–लिगलाई मनीषले  आफ्नो पाठशाला ठानेका छन् । किनभने उनले कोचिङ कोर्स गर्दा जे सिके, त्यही सिकाइलाई अभ्यास र मैदानमा लागू गर्ने मौका पाइरहेका छन् । योबाहेक उनले गोकुलममा रहेका विदेशी प्रशिक्षकसँग पनि सिकिरहेका छन् । अध्ययनशील स्वभाव भएका मनीष आई–लिग र आईएसएलमा रहेका अरु प्रशिक्षकसँग पनि कुराकानी गर्ने र उनीहरूबाट नयाँ–नयाँ कुरा सिक्ने प्रयास गर्छन् । 

भारतीय फुटबलको बजार फैलिँदै गएकाले नेपाली प्रशिक्षकका लागि प्रशस्त अवसर रहेको मनीषको ठम्याइ छ । यसका लागि नेपाली प्रशिक्षक पनि सक्षम रहेको उनको बुझाइ छ । तर नेपाली प्रशिक्षकहरू मानसिक रुपमा तयार हुने र आफ्नो प्रोफाइल बनाउनेतर्फ लाग्नु पर्ने उनको सुझाव छ । ‘हामी आफूले गराउने अभ्यासको भिडियो इन्टरनेटमा राख्दैनौँ । प्रोफाइल बनाउँदैनौँ । जबकि अहिलेको समयमा सामाजिक सञ्जाल वा युट्युवका भिडियोहरूबाट स्काउटिङ हुन्छ,’ मनीष भन्छन् । 

छोटो बसाइमा पनि मनीषले भारतीय फुटबल निकै व्यवसायिक भएका महसुस गरेका छन् । ‘यहाँको वातावरण नै फरक छ । यहाँ प्रोफेसनल सेटअपको हिस्सा बनेको अनुभव हुन्छ । लगानी ठूलो छ । क्लब व्यवस्थापन फुटबललाई लिएर गम्भिर छन् । अभ्यासदेखि डाइटप्लानसम्ममा उनीहरू सचेत देखिन्छन्,’ मनीषले आफ्नो अनुभव सुनाए । अनुभवी प्रशिक्षकहरू, उनीहरूसँगै आउने फिटनेस प्रशिक्षक, पर्याप्त पूर्वाधार, लगानी, एकेडेमीमार्फत खेलाडीको उत्पादन, लिग संरचना लगायतले भारतीय फुटबलको विकास भइरहेको मनीषको ठम्याइ छ ।    

देशको फुटबल बलियो भए मात्रै त्यहाँका खेलाडी र प्रशिक्षकप्रतिको विश्वास बढ्ने मनीषको बुझाइ छ । ‘गोकुलममा सुरुमा मप्रति पनि संशय थियो । नेपालका प्रशिक्षक पनि राम्रा हुन्छन् र भनेको पनि सुनियो । तर नेपालको फुटबलको विकास आशातित रुपमा हुन नसके पनि त्यहाँका खेलाडी र प्रशिक्षकको स्तर उच्चकोटिको छ भनेर प्रमाणित गर्न सकिन्छ,’ मनीष भन्छन् । 

उनी नेपाली फुटबलको भविष्यप्रति भने सकारात्मक छन् । नेपाली फुटबलमा लगानी कम भइरहे पनि प्रतिभाशाली खेलाडी भने उत्पादन भइरहेको दाबी गर्छन्, उनी । नेपाली खेलाडीको प्रतिभाबारे भारतीय फुटबल जानकार रहेको मनीषको भनाइ छ । ‘मलाई नेपाली खेलाडीबारे सोधिन्छ । झन् साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनका कारण नेपाली खेलाडीबारे राम्रो सन्देश गएको छ,’ मनीषले भने । उनी नेपाली खेलाडीले आई–लिगमा मात्रै होइन आईएसएलमा समेत प्रशस्त मौका पाउन सक्ने बताउँछन् । 

भारतीय फुटबलमा मनीषले देखेको बलिया पक्षहरू मध्येको एक हो, प्रि–सिजन । ‘भारतमा प्रि–सिजन हुन्छ । यो क्लब फुटबलका लागि अत्यावश्यक कुरा हो । प्रि–सिजनमा मैत्रीपूर्ण खेल खेल्दा बलिया विपक्षीसँग खेल्नुपर्छ । हामीले प्रिसिजनमा आईएसएलका टिमसँग खेलेका छौँ । तयारी भएपछि मात्रै लिगमा खेलाडीको प्रदर्शनमा एकरुपता आउँछ,’ मनीषले भने ।

आउँदा केही वर्ष भारतीय फुटबलमै व्यतित गर्ने योजना बनाएका छन्, मनीषले । हुन त व्यवसायिक फुटबलमा कसैले पनि भोलि यही नै हुन्छ भन्न सक्दैन । यो तथ्यप्रति मनीष पनि बेखबर छैनन् । त्यही भएर उनी विदेशका अन्य क्लबसँग पनि सम्पर्कमा छन् । तर एउटा कुरामा चाहिँ उनी निश्चित छन् । त्यो हो, अध्ययन । उनको लक्ष्य हो, फुटबलका थप कोर्स गरिरहने ।  


 


 



Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
ad
x