फुटबल

ब्राजिलका पूर्वफरवार्ड रोबिन्होलाई नौ वर्षकाे जेल सजाय

इकागज |
माघ ६, २०७८ बिहीबार ११:१८ बजे

काठमाडौँ- ब्राजिलको राष्ट्रिय टिम अनि एसी मिलान तथा रियल मड्रिडबाट खेलेका रोबिन्होलाई सन् २०१७ मा इटालीकाे अदालतले नौ वर्षको जेल सजाय सुनाएको थियो । सन् २०१३ मा एक नाइट क्लबमा अल्बानियाकी एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीसहित पाँच ब्राजिलियनमाथि मुद्दा दायर गरिएको थियो । त्यसमा उनलाई दोषी ठहर गर्दै नौ वर्षका लागि जेल सजाय सुनाइएको थियो । 

तर रोबिन्होले आफू निर्दोष रहेको भन्दै इटालीको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्च अदालतले भने बिहीबार पहिलेकै निर्णयलाई सदर गरेको छ । 


रोबिन्हो हाल ब्राजिलमा छन् । ब्राजिलको संविधान अनुसार विदेशी भूमिमा गरेको अपराधका लागि ब्राजिलियन नागरिकलाई गिरफ्तार गर्न पाइँदैन । यसकारण उनलाई न त ब्राजिलमा गिरफ्तार गरिनेछ न त उनलाई इटालियन प्रहरीलाई जिम्मा नै लगाइनेछ । 

तर रोबिन्हो अन्य देश गए उनी पक्राउ पर्ने सम्भावना भने छ । इटालीले युरोपियन युनियन सदस्य, अमेरिका, अर्जेन्टिनागरी ७० देशसँग सुपुर्दगी सन्धि गरेको छ । यसकारण रोबिन्हो ती ७० देशमध्ये कही पनि पुगेमा पक्राउ पर्ने सम्भावना रहन्छ । 

३७ वर्षीय रोबिन्होले ब्राजिलको राष्ट्रिय टिमका लागि कुल १०० खेल खेलेका छन् । सान्तोसबाट क्लब करियरको सुरुवात गरेका रोबिन्हो सन् २००५ मा रियल मड्रिड पुगेका थिए । त्यहाँ दुई स्पेनिस ला लिगा जितेपछि रोबिन्हो सन् २००८ मा म्यानचेस्टर सिटीसँग आबद्ध भएका थिए । तर सिटीमा सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि उनी सान्तोस फर्किएका थिए । 

सान्तोसबाट फेरि युरोपियन क्लब फुटबलमा पुनरागमन गरेको रोबिन्होले मिलानबाट सिरी ए जितेका थिए । मिलानपछि उनले चिनियाँ सुपर लिगको ग्वान्जाउ एभरग्रान्डे, बासाकसेहिर, सिभास्पोर र एट्लेटिको मिनेरोबाट पनि खेल्न भ्याएका थिए ।   


Author

थप समाचार
x