फुटबल

भारतमा सुरु हुँदै वुमन्स एसियन कप, पहिलो खेलमा चीनको विपक्षी चाइनिज ताइपेई

इकागज |
माघ ६, २०७८ बिहिवार १४:२९ बजे

काठमाडौँ- बिहीबार साँझदेखि एएफसी वुमन्स एसियन कप सुरु हुँदैछ । भारतीय सहर मुम्बईका दुई र पुनेको एक रंगशालामा हुने एसियन कपमा कुल १२ टिम सहभागी छन् । यी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उप–विजेताले क्वार्टरफाइनलमा स्थान बनाउने छन् । यी ६ टिमलाई तेस्रो स्थानमा रहने दुई टिमले पछ्याउने छन् । 

मुम्बईको मुम्बई फुटबल ऐेरेनामा हुने उद्घाटन खेलमा चीनले चाइनिज ताइपेईको सामना गर्दैछ । एसियन कपको इतिहासमा चीन सर्वाधिक सफल टिम हो । उ आठ पटक च्याम्पियन बनेको छ । चीनको विपक्षी चाइनिज ताइपेईले भने तीन पटक एसियन कप जितेको छ । ताइवानको फुटबल टिम हो, चाइनेज ताइपेई । चीन र ताइवानबीचको राजनीतिक सम्बन्ध चिसिएकाले पनि यी दुईका फुटबल टिम मैदानमा उत्रदा खेल रोचक हुने अनुमान गरिएको छ । बिहीबारकै अर्को खेलमा भारतले इरानसँग प्रतिस्पर्धा गर्दैछ । 


सन् २०२३ मा महिला विश्वकप हुँदैछ । अस्ट्रेलियामा हुने विश्वकपकमा एसियाका पाँच टिम छनौट हुनेछन् । अस्ट्रेलिया आयोजकको हैसियतले विश्वकपका लागि छनौट भइसकेको छ । विश्वकप आयोजक अस्ट्रेलियाले एसियन कपको आफ्नो पहिलो खेलमा शुक्रबार इन्डोनेसियाको सामना गर्दैछ । 

शुक्रबार नै हुने अन्य खेलमा जापानको भेट म्यानमारसँग हुनेछ भने दक्षिण कोरिया र भियतान तथा थाइल्यान्ड र फिलिपिन्स पनि आसपमा भिड्नेछन् । जापान एसियन कपको पछिल्ला दुई संस्करणको विजेता हो । संयोगवश ती दुवै उपाधि भिडन्तमा जापानले अस्ट्रेलियालाई पाखा लगाएको थियो । अस्ट्रेलियाले सन् २०१० मा महादेसीय प्रतियोगिता जितेको थियो । 
  
 


Author

थप समाचार
x