फुटबल

एसियाली फुटबल स्टार सरदार आजमौन अब बुन्डेसलिगामा

इकागज |
माघ ९, २०७८ आइतवार १३:५० बजे

काठमाडौँ- इरानका सरदार आजमौनले आउँदो सिजन जर्मनीको क्लब बायर्न लेभरकुजनबाट खेल्ने भएका छन् । हाल रुसी लिग च्याम्पियन जेनिट सेन्ट पिटर्सबर्गबाट खेलिरहेका फरवार्ड आजमौन जारी सिजनको अन्त्यमा बुन्डेसलिगा जानेछन् । पिटर्सबर्गसँग सम्झौता नवीकरण नगरी उनी ‘फ्रि–टान्सफर’मा लेभरकुजन जान लागेका हुन् । 

‘रुसी प्रिमियर लिगका केही उच्च गोलकर्तामध्येका हुन्, आजमौन । उनी पछिल्ला तीन सिजन लगातार रुसी लिग च्याम्पियन बनेका छन् । च्याम्पियन्स लिगमा उनले गरेको प्रदर्शनले हामी सबैको मन जितेको छ । अन्तर्राष्ट्रिय फुटबलमम समेत उनले आफूलाई सिद्व गरेका छन् । यसकारण हामी विश्वस्त छौँ, उनको उपस्थितिमा लेभरकुजनको अग्रपंक्ति थप बलियो हुनेछ,’ लेभरकुजनले भनेको छ । 


२७ वर्षीय आजमौनले रुसी प्रिमियर लिगमा दुई सय आठ खेल खेलिसकेका छन् । जसमा उनले ८५ गोल गरेका छन् भने ३८ असिस्ट दर्ता गरेका छन् । जेनिटका लागि मात्रै उनले ७९ लिग खेलमा ५२ गोल गरेका छन् । उनको गोल रेकर्ड इरानको राष्ट्रिय टिमका लागि पनि उत्तिकै सशक्त छ । रुसमा भएको विश्वकपमा समेतगरी उनले इरानको जर्सीमा कुल ६० खेल खेलेका छन् । ती खेलमा उनले ३९ गोल गरेका छन् ।  
 


Author

थप समाचार
x