फुटबल

आहा–रारा गोल्डकपः

समर्थकविनाको घरेलु रंगशालामा मनाङले पुलिसलाई हरायो

इकागज |
माघ ९, २०७८ आइतबार १७:३ बजे

काठमाडौँ- अफिज ओलावाले ओलाडिपोको एक–एक गोल र असिस्ट गरेपछि मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २–०ले हराउँदै पोखरामा जारी आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा ओलावालेबाहेक रुपेश केसीले गोल गरेका थिए । 

सहिद स्मारक ए डिभिजन लिगका यी दुई टिमबीचको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने मनाङले लगातार दुई गोल गर्‍यो । रुपेशले मनाङको गोलको खाता खोलेका थिए । उनले ओलवालेको पासमा ६४ औँ मिनेटमा गोल गरेका थिए ।पुलिसका रक्षकहरूले गल्ती गरेपछि मनाङले गोलको अवसर सिर्जना गरेको थियो । ओलावालेले प्रेस गरेपछि पुलिसका सुमन सुवदीले बल हेमन्त श्रेष्ठलाई पास दिएका थिए । त्यसपछि हेमन्तसँग रहेको बल खोस्न रुपेश पुगे । यस्तोमा हेमन्तले अजित भण्डारीलाई ब्याक पास दिए । अजितले रुपेशलाई बिट गर्दै आफ्ना साथीलाई पास दिने प्रयास गर्दा ओलावाले बल पाए । फलतः ओलावालेले पेनाल्टी एरियामा रहेका रुपेशलाई बल पास गरे । जसलाई रुपेशले सुन्दर गोलमा परिणत गरे । 


दोस्रो गोल पनि पुलिसका खेलाडीहरूकै गल्तीका कारण सम्भव भयो । मिडफिल्डबाट मनाङको क्षेत्रतर्फ बलअघि बढाइरहेका भोला सिलवाललाई ओलावाले प्रेस गरेका थिए । बल खोसेपछि ओलावाले पुलिसको पेनाल्टी एरियातिर अगाडि बढे । पुलिसका रक्षक र गोलरक्षकलाई बिट गर्दै गोल गरे । 

फाइनल प्रवेशका लागि मनाङले अब थ्रीस्टार क्लब र त्रिभुवन आर्मी एफसीबीचको विजेताको सामना गर्नेछ । पछिल्लो समय पोखरा रंगशालालाई आफ्नो घरेलु मैदान बनाएको मनाङ सर्वाधिक पटक आहा–रारा गोल्डकप च्याम्पियन बन्ने दाउमा छ । उसले यो प्रतियोगिता ६ पटक जितिसकेको छ । 


Author

थप समाचार
x