गिरिजा स्मृति दिवस

गिरिजा स्मृति दिवस

राजनीति गर्दागर्दै जिल्लैमा पनि आइतबारदेखि शुक्रबार हराइदिने उहाँ

डा. शेखर कोइराला |
चैत ७, २०७७ शनिवार ७:२९ बजे

तस्बिर : विकास रौनियार

संसद् पुनःस्थापना
२०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि संसद् पुनःस्थापना हुनुपर्छ भन्‍ने पक्षमा उहाँ एक्लो हुनुहुन्थ्यो । मुलुकभर संसद् पुनःस्थापना हुनुपर्छ भन्‍नेमा उहाँ एक्लै भए पनि राष्ट्रिय रुपमा सबै राजनीतिक दल, नागरिक समाजलगायत सबैलाई मिलाउनु भयो । अन्तर्राष्ट्रिस्तरमा भारत, चीन, अमेरिका सबैलाई सम्झाएर पुनःस्थापनाको लडाइँ लड्नुभयो । अन्ततः सफलता प्राप्त गरेरै छाड्नुभयो । अहिलेको परिस्थितिमा त्यस्तो व्यक्ति हामीमाझ नहुँदाखेरि कसरी छिचोल्ने भन्‍ने अन्यौल, नेपाली कांग्रेसमा मात्रै होइन सबै दलमा छ । गिरिजाबाबुको ‘रोल-मोडल’मा हामी आउन सकिरहेका छैँनौँ ।

संगठनमा सक्रियता
गिरिजाबाबु कांग्रेसको महामन्त्री हुँदा जति चलायमान हुनुहुन्थ्यो, त्यति चलायमान त अहिलेको हाम्रो नेतृत्वमा कोही पनि छैन । म त केटाकेटीदेखि उहाँको संगतमा हुर्केको हुँ । उहाँ कांग्रेसको महामन्त्री नहुँदा पनि त्यत्तिकै चलायमान हुनुहुन्थ्यो । मोरङको राजनीति गर्दा पनि उहाँ त्यत्तिकै चलायमान हुनुहुन्थ्यो ।


मोरङ र सुनसरी त्यो बेला एउटै जिल्ला थियो । जिल्लाकै राजनीति गर्दासमेत आइतबार घरबाट निस्केको मान्छे शुक्रबार मात्रै घरमा आउनुहुन्थ्यो । आफ्नो स्वार्थभन्दा संगठनलाई मजबुत गराएर अगाडि बढ्यो भने सफलता हात पर्छ भन्‍ने पक्षमा सधैँ देखिनुहुन्थ्यो । उहाँको त्यो गतिलाई आफ्नो अन्तिम अवस्थासम्म पनि निरन्तरता दिनुभयो । उहाँले घर, परिवार, नातागोता र आफन्तलाई भन्दा सधैँ बढी समय पार्टी र संगठनलाई दिनुभयो ।

निर्णय गरेपछि कार्यान्वयन गरेरै छोड्ने 
उहाँ पटक-पटक प्रधानमन्त्री बन्‍नुभयो । उहाँ प्रधानमन्त्री बन्दा प्रायः म सँगै रहँे । उहाँ एक पटक निर्णय लिएपछि त्यो निर्णयबाट कहिल्यै पछि हट्नु भएन । उहाँ पहिलो पटक २०४८ सालदेखि ०५१ सालसम्म प्रधानमन्त्री बन्‍नुभयो । यतिखेर विकासका जति संरचना बनेका छन्, त्यसको डिजाइन त्यही बेलै भएको हो । त्यसैको बलमा मुलुक अगाडि बढिरहेको छ । भएको निर्णय कार्यान्वयन गर्न जति बाधा र व्यवधान आएपनि ती व्यवधान जसरी भए पनि सल्टाएर पूर्णता गरेरै छाड्नुहुन्थ्यो । त्यो उहाँको सुरुदेखिको बानी हो । जीवनको उत्तरार्धसम्म त्यसलाई निरन्तरता दिनुभयो ।

बिर्सन नसक्ने सम्झना 
एउटा संसद् पुनःस्थापनाको विषय हो । मुलुकभरका नेताहरु, राजनीतिक दलहरु एकातिर थिए । अन्तर्राष्ट्रिय समुदाय अर्कातिर थियो । उहाँ एक्लो हुनुहुन्थ्यो तर, पूरा गरेरै छाड्नुभयो । दोस्रो, कांग्रेस संस्थापक जननेता विश्वेश्वरप्रसाद कोइराला जेलमा हुनुहुन्थ्यो । उहाँ छुटाउन लाग्‍नु भएको थियो । त्यही बेला उहाँकी श्रीमती सुष्मा कोइराला जल्नुभयो । उहाँ आदर्श बालिका विद्यालयमा पढाउनु हुन्थ्यो । उहाँको शरीर ९० प्रतिशत जल्यो । काेशी अञ्चल अस्पतालमा उपचार भइरहेकाे थियाे । जलेपछि १० दिन बाँच्नुभयो । यस्तो अवस्थामा श्रीमतीको उपचारमा ध्यान दिनुपर्ने तर, बीपीलाई छुटाउन र पार्टीको काममा पनि ध्यान दिई नै रहनुभयो । त्यो पनि मैले बिर्सन नसक्ने क्षण हो । परिवारमा पीडा पर्दा पनि पार्टीको काममा ध्यान दिन छोड्नु भएन ।

बृहत शान्ति सम्झौता 
उहाँ पहिला माओवादीलाई समाप्तै पारेर अगाडि बढ्नुपर्ने सोच राख्नुहुन्थ्यो । एक पटक माओवादीले रोल्पाको होलेरीमा आक्रमण गर्दा उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्‍यो । त्यो बेलामा उहाँले माओवादी समस्या समाधानका लागि प्रधानमन्त्रीको हैसियतमा सेना परिचालन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । तर, तत्कालीन राजाले मानेनन् । र राजीनामा दिनुभएको थियो ।

गिरिजाबाबुको निर्देशनमा हामीले दिल्लीमा माओवादीसँग वार्ता गरेकै दिन देउवाजीले संसद् विघटन गरिदिनु भयो ।

त्यसपछि उहाँ देश घुम्‍न थाल्नुभयो । घुम्दै घुम्दै कञ्चनपुरमा पुग्नु भयो । त्यहाँका तत्कालीन तरुण दलका जुझारु साथीलाई माओवादीले मारिदिए । त्यसबेलामा झण्डा ओढाएपछि उहाँको मनस्थिति बदलिएको हो । र माओवादी समस्या वार्ताबाट समाधान गर्नुपर्छ भनेर लाग्नुभएको हो । बल्ल मात्रै उहाँ माओवादीसँग वार्ता गर्न तयार हुनुभएको हो । त्यो बेलासम्म उहाँले माओवादीसँग वार्ता गर्नै मान्‍नुभएको थिएन । झण्डा ओढाउने क्रममा के मनमा आयो अनि मात्रै उहाँले मनस्थिति बदल्नु भएको हो । यो होलेरी काण्डपछि केही महिनापछिको कुरा हो ।

त्यसपछि उहाँले माओवादीसँग आफ्नो सम्पर्क अगाडि बढाउन थाल्नुभयो । त्यसबेला विराटनगरस्थित नोबेल अस्पतालका डा. सुनील शर्माको साथी थिए माओवादी निकट पत्रकार कृष्ण सेन इच्छुक । डा. शर्माको गिरिजाबाबुसँग राम्रो, इच्छुकको माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अत्यन्त निकट सम्बन्ध । इच्ुछुकले दाहालसँग र डा. शर्माले गिरिजा बाबुसँग कुरा गरेर वार्ता कसरी गर्ने भन्‍ने तय भए ।

उनीहरुको प्रस्तावमा गिरिजाबाबु तयार हुनुभयो । त्यसपछि इच्छुकलाई पटक पटक कहिले धुम्बाराहीमा, कहिले बागबजारमा पटक पटक भेटिरहनु भयो । त्यसबेला इच्छुक प्रायःगरी बागबजारस्थित ताज होटलमा बस्थे । त्यहाँ बस्‍ने प्रबन्ध गिरिजाबाबुले नै गरिदिनु भएको हो ।

इच्छुकलाई उहाँले पटक पटक खुला तरिकाले नहिँड्नु अफ्ठेरो पार्छन् भनेर भन्‍नुहुन्थ्यो । तर, उहाँले कुरालाई गम्भीरतापूर्वक लिएनन् । पछि उहाँले भनेजस्तै सुरक्षाकर्मीले नियन्त्रणमा लियो र मार्‍यो । 

प्रचण्डसँग पहिलो वार्ता गर्न पहिला उहाँ नेपालबाट चीन जानुभयो । उतैबाट हङकङ पुग्‍नुभयो । त्यहीबाट सिधै भारत पुग्‍नुभयो । त्यसबेला उहाँसँग सँगै चक्रप्रसाद बास्तोला पनि हुनुहुन्थ्यो । त्यसबेला गिरिजाबाबु, डा. बाबुराम भट्टराई र प्रचण्डबीच भारतमा वार्ता भयो । त्यतिबेला गिरिजाबाबुले सहमतिका लागि चार विषय राख्नुभएको थियो माओवादीसँग । पहिलो, तत्कालीन संविधानको प्रस्तावनालाई जस्ताको तस्तै राख्‍ने । दोस्रो, तत्कालीन राजामा रहेको शक्ति केही कटौती गर्ने । तेस्रो, शक्ति कटौती गरे पनि राजा भने राख्‍ने । र चौथो, नेपाली सेनालाई संसद्को मातहतमा राख्‍ने ।

गिरिजाप्रसाद कोइराला सक्रिय र दृढ निश्चयी हुनुहुन्थ्यो । जे गर्छु भन्‍नुहुन्थ्यो, त्यो गरेरै छोड्नुहुन्थ्यो ।

उहाँ आफूले यी विषय तय गरेपछि यस विषयमा थप छलफल गर्न गोविन्दराज जोशी र मलाई भारत पठाउनुभयो । उहाँका प्रस्तावबारे माओवादीका तत्कालीन नेताहरु डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरासँग कुरा गर्‍यौँ । यी प्रस्ताव गिरिजाबाबुले पहिलो भेटमा पनि मोटामोटी राखेकाले उनीहरु हामीले राखेका प्रस्तावमा सहमति गर्न तयार भएका थिए ।

हामीले दिल्लीमा वार्ता गरेकै दिन त्यहाँ प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाले संसद् विघटन गरिदिनु भयो । त्यसपछि उहाँहरुले संसद् विघटन भइहाल्यो । अब अहिले सहमति गरेर के फाइदा भयो र भने । त्यस विषयमा उनीहरुले सहमति नगरे पनि प्रचण्डसँग गिरिजाबाबुले पटक-पटक टेलिफोनमार्फत सम्पर्क गरिरहनु भयो । 

त्यसरी कुराकानी अगाडि बढ्दै गएपछि १२ बुँदे शान्ति सम्झौताको वातावरण तयार भएको हो । सम्झौता तयार गर्ने क्रममा एक पटक पहिला दिल्ली जानुभयो । त्यसबेला भेटघाट भयो । उहाँ दिल्ली गएर फर्किएपछि सिटौलाजी र मैले बाबुराम र प्रचण्डसँगको सहकार्यमा सम्झौताबारे काम थाल्याँै । दोस्रो पटक दिल्लीमा गएर १२ बुँदे सम्झौता गर्नुभयो । 

त्यो सम्झौता गर्छु भनेर पार्टीबाट पहिल्यै पूर्ण अधिकार लिइहाल्नु भएको थियो । तर, पार्टी नेताहरुले त्यो सम्झौताबारे त्यति चित्त बुझाएका थिएनन् । तर, उहाँको चित्त नबुझाउने नेताहरुलाई सम्झाउने बानी थियो । धेरैलाई सम्झाएर सहमत बनाउनुभयो । यो अत्यन्तै ‘सेन्सेटिभ इस्यु’ भएकाले धेरैले नाइँनास्ती गर्न पनि सकेनन् । चित्त नबुझ्दा नबुझ्दै पनि सहमतिमा आए । (मधुसुधन भट्टराईसँगको कुराकानीमा आधारित) 

गिरिजाबाबुका अनौठा आनीबानी

 


Author

थप समाचार
x