गिरिजा स्मृति दिवस

गिरिजा स्मृति दिवस

गिरिजाप्रसादको गाथा कहँदा...

खगेन्द्र कर्ण |
चैत ७, २०७७ १३:२८ बजे

तस्बिर : विकास रौनियार

नेपालको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनको विषयमा लेखिने र लेखिएको प्रत्येक पुस्तकमा पढिने नाम हो, ‘गिरिजाप्रसाद कोइराला’ । राजनीतिक अडान, कुशल संगठनकर्ता र ठोस निर्णय लिन सक्ने अद्भुत चरित्र भएका व्यक्तित्व थिए, गिरिजाप्रसाद । राणा शासनविरुद्धको अभियानमा सक्रिय भएको आरोपमा उनका पिता कृष्णप्रसाद कोइरालालाई सर्वस्वहरणसहित देश निकाला गरिएको थियो ।

त्यसैबखत वि.सं. १९८१ मा भारतको बिहार राज्यको सहरसा जिल्लाअन्तर्गत टेडीनगरमा उनको जन्म भएको थियो । उनी जन्मिँदा नेपालमा जहानियाँ राणाशासन थियो भने भारतमा ब्रिटिस अंग्रेज उपनिवेशी शासन । दुवैतिरको राजनीतिक अवस्था के हुने हो ? अन्यौलग्रस्त थियो । उनको परिवार गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रभावित थियो ।


पिताजी कृष्णप्रसाद कोइराला र दाजु बीपी कोइराला भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका थिए । राणा प्रधानमन्त्री चन्द्र शमशेर मृत्युपछि मात्रै उनको परिवार नेपाल फर्किएका थिए । गिरिजाप्रसाद २२ वर्षको उमेरमा मजदूरहरूमाथि हुने अन्याय, अत्याचार र शोषणविरुद्धमा विराटनगर जुट मिलबाट विद्रोहको बिगुल फुकेका थिए । त्यो मजदुर आन्दोलन देशभरि फैलिएको थियो । त्यही मजदुर संगठनपछि नेपाल ट्रेड युनियन कांग्रेसको नाममा स्थापना भएको थियो ।

२००७ मा राणा र कांग्रेसको संयुक्त सरकार गठन भएको थियो । त्यो सरकारको प्रमुख जिम्मेवारी निर्वाचन सम्पन्‍न गराउनु थियो । तर त्रिभुवन र महेन्द्रको अनेक तिकडमका कारण त्यो निर्वाचन सम्पन्‍न हुन आठ वर्ष लागेको थियो । गिरिजाप्रसाद मोरङ जिल्ला नेपाली कांग्रेसका पार्टी सभापति थिए । २०१५ सालको निर्वाचनमा बीपी कोइराला मोरङ-३२ बाट उम्मेद्वारी दिएका थिए ।

बीपीलाई हराउन दरबार सक्रिय रुपमा लागेको थियो । राजाको कम्युनिस्ट भनेर चिनिने डा. केशरजङ्ग रायमाझीले स्वतन्त्र उमेदवार डा. अवधनारायणलाई सहयोग गर्न निर्देशन पठाएका थिए । निर्वाचन अवधिभर देशभरि खटिएका नेता बीपी मात्रै थिए । आफ्नै निर्वाचन क्षेत्रमा धेरै समय दिन नपाएकामा के होला, कस्तो होला भन्‍ने चिन्ता बीपीलाई भइरहन्थ्यो । 

तर गिरिजाप्रसाद खटिएकाले उनी जित्ने कुरामा विश्वस्त थिए । बीपी आफैँले भनेका छन्, ‘त्यहाँ के भइरहेको छ, कस्तो भइरहेको छ, मलाई थाहा थिएन ।’ तर मलाई हराउन गाह्रो होला जस्तो लागेको थियो । महेन्द्रले २०१७ पुस-१ गते बीपीको जन-निर्वाचित सरकारलाई अपदस्थ गरे र गिरफ्तार । गिरिजाप्रसाद पनि गिरफ्तारीमा परे । सात वर्ष निरन्तर जेल बस्‍नु परेको थियो ।

नेपालमा दल र दलीय गतिविधि प्रतिबन्धित अवस्थामा थियो । गिरिजाप्रसाद भारत प्रवेश गरे । नेपाल-भारत सिमानाको छेउ-छाउमा बसेर प्रजातन्त्र पुनःबहालीको गतिविधि सञ्चालन गर्न थालेका थिए । यता बीपी अन्तर्राष्ट्रिय समर्थन जुटाउने र प्रजातान्त्रिक विचार सम्प्रेषित गर्ने कार्यमा थिए । प्रजातान्त्रिक आन्दोलन सफल बनाउन आवश्यक स्रोत/साधन जुटाउने र संगठन निर्माण गर्ने जिम्मेवारी गिरिजाप्रसादले निर्वाह गर्दै थिए । जनताको खोसिएको अधिकार प्राप्ति गर्ने एजेन्डालाई प्रमुख लक्ष्य बनाएर संगठन निर्माणको जिम्मेवारीलाई प्राथमिकतामा राखेका थिए ।

यसै क्रममा गिरिजाप्रसादको योजनाअनुरूप नै चर्चित विमान अपहरण पनि गरिएको थियो । प्रजातन्त्रको अर्थ संगठन । संगठनको अर्थ कुनै नयाँ एजेन्डालाई अपनाउने । र जसले जनताको अधिकार प्राप्तिमा अवरोध गर्छ । त्यसलाई हटाउने । दरबारले जनताको अधिकार खोसेको थियो । त्यसलाई हटाउन संगठन एक मात्र विकल्प थियो । त्यहीँ संगठनको बलमा २०४६ मा लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा जनअन्दोलन सफल भएको थियो ।

२०४८ सालमा मोरङ र सुनसरी जिल्लाका दुई निर्वाचन क्षेत्रबाट गिरिजाप्रसाद निर्वाचित भएका थिए । उनलाई संसद्ले प्रधानमन्त्री पदमा निर्वाचित गर्‍यो । उनी, त्यो समयमा दोस्रो मर्यादाक्रमका नेपाली कांग्रेसका नेता थिए । उनले महेश आचार्यलाई अर्थ राज्यमन्त्रीमा नियुक्त गरेका थिए । आर्थिक सुधारका कार्यक्रम अघि बढाए ।

सहमति, सहकार्य र एकताको राजनीति बिथोल्ने प्रयास गर्दैछन् । उपलब्धिमाथि प्रहार गर्दै छन् ।

उनको कार्यकालको अवधिमा अर्थमन्त्रालय, योजना आयोग र नेपाल राष्ट्र बैंकका प्रसिद्ध अभिनेताहरूको बीचमा राम्रो गठजोड थियो । जसको परिणाम उनले आर्थिक नीति प्रस्तुत गरे । २०५०-०५१ मा रेकर्ड आर्थिक वृद्धि ७.९ प्रतिशत कायम गर्न सफल भएको थियो । २०५२ सालमा ग्लोबल इकोनोमिक्स प्रोस्पेक्टस, विश्व बैंकको सर्वोत्कृष्ट प्रकाशनले घोषणा गर्‍यो । नेपाल/दक्षिण एसियामा तीव्र आर्थिक वृद्धि हुने देश । यही विशेष रिपोर्टको उदाहरण अनेकन् अर्थशास्त्रीहरूले पनि दिने गर्छन् । गिरिजाप्रसाद एक पटक ‘आफ्नो कुरा’ नामक कार्यक्रममा आफ्नो प्रथम कार्यकालको आर्थिक सुधारका उदाहरण दिने क्रममा यहीँ रिपोर्ट उल्लेख गर्दै स्मरण गराएका थिए । नेपाली कांग्रेसमा बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह जस्ता मूर्धन्य नेता भएको बेलामा पनि गुटबन्दी उत्कर्ष पुगेको इतिहास बिर्सिन मिल्दैन ।

२०५१ सालमा चरम गुटबन्दीको सिकार गिरिजाप्रसादको सरकार बन्‍न पुग्यो । वास्तवमा भन्‍ने हो भने नेपालको राजनीति यही बिन्दुबाट दुश्चक्रमा फँसेको हो । सरकार बनाउने र ढाल्ने खेलको सुरुवात भएको थियो । प्रजातान्त्रिक अभ्यासको विकृत नमुना थियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो । हत्या र हिंसाको चपेटामा नेपाल फसिसकेको थियो । जनताको प्रतिनिधिमूलक संस्था स्थानीयदेखि केन्द्रसम्म विघटित थियो । महत्वाकांक्षी ज्ञानेन्द्रले दलिय द्वन्द्वको मौका छोपी प्रजातन्त्र अपहरण गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए । गिरिजाप्रसाद जहिले पनि भन्‍ने गर्थे । प्रजातन्त्रविरुद्धमा कुनै शक्तिसँग सम्झौता गर्दिनँ । उनले ज्ञानेन्द्रको तानाशाहीविरुद्ध लड्न तत्कालीन सात दललाई साझा मुद्दामा एकताबद्ध गरे । संसद् पुनःस्थापनालाई प्रमुख मुद्दा बनाए । 

हत्या-हिंसाको राजनीति गरिरहेका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन चर्चित १२ बुँदे सम्झौताको नेतृत्व गरेका थिए । शान्तिपूर्ण जनआन्दोलनको घोषणा गरिएको थियो । उनले भविष्यका पुस्ताले लोकतन्त्रका लागि आन्दोलन गर्नु पर्दैन भनेर ‘पूर्ण लोकतन्त्र’का लागि आह्वान गरेका थिए ।

अथक मिहनेत, परिश्रम, बलिदान र जनआन्दोलनको बलमा ०६३ वैशाख-११ मा प्रतिनिधि सभा पुनःस्थापना भएको थियो । २०४६ सालको जनआन्दोलनपछि कम्युनिस्ट विरोधी छवि बनाएका गिरिजाप्रसाद ०६२ सालमा सहमति, सहकार्य र एकतालाई मूलमन्त्र बनाएका थिए । उनको नेतृत्वमा २०६२ मंसिरमा १२ बँुदेबाट सुरु भएको शान्ति प्रक्रिया जनआन्दोलन हुँदै २०६३ मंसिर-५ मा बृहत् शान्ति सम्झौताको रुपमा औपचारिकता पाएको थियो । 

माओवादी जस्तो हिंसात्मक राजनीति गर्ने शक्तिलाई शान्ति प्रक्रियामा ल्याएर संसदीय परिपाटीमा ल्याउनु गिरिजाप्रसादको ठूलो उपलब्धि थियो । यद्यपि माओवादीसँग सहमति गरेपछि उनको कडा आलोचना पनि भएको थियो । गिरिजाप्रसादको व्यक्तित्वको अगाडि त्यो आलोचना छायाँमा नै रहयो । उनको नेतृत्वमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशिताजस्ता अग्रगामी मुद्दा स्थापित भयो । गिरिजाप्रसादको पनि सत्ता र पार्टी सञ्चालनमा अनेकन् कमजोरी थियो, तर तिनको अनुपस्थिति आज पनि राजनीतिक वृत्तमा खट्किरहेको छ । वर्तमानमा नेताहरू कुदिरहेका छन् । तर पार्टी सक्रिय छैन । नेताहरू गुटगत भेला-भोज, व्यक्तिगत जिल्ला दौडाहा गर्दैछन् । संस्थागत ध्वनि प्रवाहित छैन । सहमति, सहकार्य र एकताको राजनीति बिथोल्ने प्रयास गर्दैछन् । उपलब्धिमाथि प्रहार गर्दै छन् । गिरिजाप्रसाद जस्तै सामर्थ्य भएको नेतृत्वको अभाव नेपाली कांग्रेस र देश दुवैलाई खट्किएकै होला ।


Author

खगेन्द्र कर्ण

(पूर्वाञ्‍चल विश्‍वविद्यालयका नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष कर्ण सिभिल इन्जिनियर हुन् ।)


थप समाचार
ad
x