सुशासन

नौलीखोला जलविद्युत् घोटाला : धार्चेका कार्यकारी र वडाअध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
चैत ३०, २०७७ सोमबार १७:२१ बजे

काठमाडौं : गोरखाको नौलीखोला तेश्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनः निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गर्ने धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधृकतसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले काठमाडौं विशेष अदालतमा १० लाख ६३ हजार ५७ रुपैयाँ मागदाबी सहित छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । 

गाउँ कार्यपालिका गोरखाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे, तत्कालीन समयमा कार्यरत इन्जिनियर प्रविन वस्ती र सव-इन्जिनियर राम नारायण चौधरीले आयोजनाको भुक्तानी दिने चरणमा उक्त योजनाको अनुगमन/निरीक्षणपछि काम भए नभएको यथार्थ विवरण एकिन नगरी वास्तविक भएको कामभन्दा बढी मूल्याङ्कन गरी झुटो बिल पेश गरेको आयोगले जानकारी दिएको छ । 

आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाई गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङले आयोजना निर्माण गर्दा प्राविधिक समेतको मिलेमतोमा कामभन्दा बढी मूल्याङ्कन गरी/गर्न लगाई झुट्ठा बिल भरपाई गरेको पूष्टी भएको छ ।
 
वडा नं. ७ का वडा अध्यक्ष  तथा वडास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङले आफ्नो वडाभित्रका योजनाहरुको अनुगमन/सुपरीवेक्षण गरी भए गरेका कार्यहरुको मात्र भुक्तानीको लागि सिफारिस गर्नुपर्नेमा आफ्नो पदीय दायित्व पूरा नगरी उपभोक्ता समितिका अध्यक्ष र प्राविधिक समेतको मिलेमतोमा राज्यको सम्पत्ति हानिनोक्सानी गरेको आयोगले जानकारी दिएको छ । 



Author

थप समाचार
x