सुशासन

समथर चौरलाई कडा चट्टानयुक्त बनाउँदै भुक्तानी दिए/लिएपछि....

इकागज |
माघ १८, २०७९ बुधबार १८:१८ बजे

काठमाडौं– समथर चौरलाई कडा चट्टानयुक्त भएको ‘गलत प्राविधिक प्रतिवेदन’ तयार गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा प्रशासकीय अधिकृत र दुई सब–इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।

मुगुको सोरु गाउँपालिका–६ मा फिल्डमा नभएको र नगरेको कमको मूल्यांकन गरी १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब–इन्जिनियर मनोज धामी र सब–इन्जिनियर जगतबहादुर मल्लविरुद्ध मुद्दा दायर भएको हो । 


आयोगको अनुसन्धानबाट फिल्डमा नभएको कार्यसमेत भएको भनी गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच एवं नापी किताब र उपभोक्तासम्बन्धी बिल स्वीकृत गरी गलत प्रतिवेदन तयार गरेको भेटिएको छ । 

आयोगले कर्मचारी मात्र होइन कि फिल्ड निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभियुक्त बनाएको छ । समितिका अध्यक्ष रतनबहादुर शाही, सचिव धर्मबहादुर मल्ल र कोषाध्यक्ष धनदेवि छत्याल (शाही) ले खौलाचौर फिल्ड निर्माण कार्यमा गाउँपालिकासँग गरेको सम्झौता विपरित फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाई भुक्तानी लिएको अभियोग लगाएको छ । उनीहरुलाई सरकारी अधिकारी सरह १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

उक्त गाउँपालिका–६ का तत्कालीन वडा अध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानीका निम्ति सिफारिश गरेको जिकीरसहित उनलाई पनि अभियुक्त बनाइएको छ । उनलाई कसूरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना माग गरेको छ ।
 


Author

थप समाचार
x