सुशासन

सफ्टवेयर खरिद गरी प्रयोग नगर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
चैत २२, २०७९ बुधवार १४:५६ बजे

काठमाडौं– सरकारी पैसामा खरिद सफ्टवेयर प्रयोग नगर्नुलाई बद्‌नियत ठान्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृतसहित तीन अधिकृतलाई भ्रष्टाचार मुद्दा लगाएको छ ।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध १ लाख ९९ हजार ८ सय ९७ रुपैयाँ बिगोसहित अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


खरिदका कार्यका निम्ति टिप्पणी उठाउने र सदर गर्ने अधिकृतहरुलाई आयोगले दोषी ठानेको छ । उनीहरुले २०७६।०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान/विस्तार गरेका थिए । तर, खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानि–नोक्सानी पुर्‍याएको जिकिर आयोगको छ ।

आयोगको दाबी अदालतबाट प्रमाणित भएमा ती तीन अधिकृतले दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिवाना दुवै सजाय हुनेछ । त्यसअतिरिक्त बहालवाला सरकारी अधिकारी भ्रष्टाचारी प्रमाणित भएमा पेन्सन सुविधा पनि पाउने छैनन् ।
 


Author

थप समाचार
x