सुशासन

३४ लाखको कपडा बोकेको भारतीय ट्याक्टर नियन्त्रणमा, राजस्वले थाल्यो अनुसन्धान

इकागज |
असोज १४, २०७८ बिहीबार १७:३० बजे

 विराटनगर - दशैं तिहारको मुखैमा सशस्त्र प्रहरीले ३४ लाख मुल्य बराबरका शंकास्पद कपडा बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । भिसिटिएस (भेहिकल्स कन्साइन्मेनट एण्ड ट्रयाकिङ सिस्टम) मा मालवस्तु र गाडीको विवरण उल्लेख नगरी कपडा लोड गरेर ल्याइएको ट्याक्टर सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी)  विराटनगरले नियन्त्रणमा लिएको हो ।

विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट ट्याक्टरमा लोड गरिएको कपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए । नियन्त्रणमा लिएको कपडासहितको ट्याक्टर इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जानकारी दिए ।


बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरमा लोड गरिएको ३४ लाखको लत्ताकपडा र ट्याक्टर चालकसहित नियन्त्रणमा लिएर बुझाए लगत्तै राजस्वले अनुसन्धान अघि बढाएको छ । प्रहरीले बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टर चालक भारतको जोगवनीका ३२ वर्षीय पंकज यादवलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काका अनुसार सशस्त्र प्रहरीले बुझाएको ट्याक्टरको नम्बर भीसीटीएस प्रणालीमा नदेखिएको बताएका छन् । नियन्त्रणमा लिएको कपडाहरु विराटनगरकै व्यापारीहरुले भित्र्याएको हुनसक्ने भन्दै थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

यसअघि पनि राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीकै टोलीले कपडा लगायत विभिन्न सामग्री बोकेको को२त ६८११ र बीआर ५० जी ५०५३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो । ती सामग्रीको मुल्य १८ लाख रुपैयाँ बराबरको थियो ।

त्यसैगरी सोही स्थानमा खटिएको सशस्त्रको बिओपीले भदौ अन्तिम साता पनि १८ लाख ९९ हजार ५२ रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेर थप अनुसन्धानका लागि औषधी व्यवस्था विभागमा बुझाएको थियो । 


Author

थप समाचार
x