सुशासन

चार पूर्वप्रधानन्यायाधीशले अपहेलनाको मुद्दाबाट मुक्ति पाए

इकागज |
असोज १५, २०७८ शुक्रबार १४:५० बजे

काठमाडौं– चार पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध दायर ‘अपहेलना मुद्दा’मा माग दावी नपुग्ने ठहर सुनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश सपना मल्लको इजलासबाट शुक्रबार उजुरीकर्ताको माग दाबी नपुग्ने ठहर सुनाएको हो । सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘इजलासबाट उजुरीकर्ताको माग दावी नपुग्ने ठहर भएको छ ।’ अदालतको ठहरसँगै चार पूर्व प्रधानन्यायाधीशले ‘अपहेलना मुद्दा’बाट मुक्ति पाएका छन् । चार पूर्व प्रधानन्यायाधीशको तर्फबाट कानुन व्यवसायी हरिहर दाहाल, शम्भु थापा, चन्द्रकान्त ज्ञवाली, ओमप्रकाश अर्याल, मोहना अन्सारी, प्रकाश महर्जन लगायतले बहस गरेका थिए ।


पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७७ पुस ५ मा गरिएको प्रतिनिधि सभा विघटन ‘असंवैधानिक’ भएको वक्तव्य दिएपछि अदालतलाई प्रभावित गर्न खोजेको दावीसहित २०७७ माघमा चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको ‘अपहेलना’को आरोप लगाउँदै मुद्दा दर्ता भएको थियो । उजुरी दर्ता भएसँगै चारै जना पूर्व प्रधानन्यायाधीशले सशरीर सर्वाेच्च अदालमा उपस्थित हुँदै लिखित बयान बुझाएका थिए ।

चार पूर्वप्रधाननययाधीशले ‘स्पष्ट रुपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधि सभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्र्तनिहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिंदैन’ भन्ने वक्तव्य दिएका थिए । वक्तव्यमा भनिएको छ, ‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्तो कुनै परिस्थितिले जुन प्रयोजनको लागि जे कुरा गर्न व्यवस्था गरिएको छ सो वाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन ।’

उक्त वक्तव्यले अदालतमा विचाराधीन विषयलाई प्रभाव पारेको जिकीरसहित अपहेलना मुद्दा दायर भएको थियो । उक्त वक्तव्यसँगै तत्कालीन प्रधानमन्त्री ओली चार प्रधानन्यायाधीशविरुद्ध सार्वजनिक रुपमा खनिएका थिए ।
 


Author

थप समाचार
x