सरकार

निर्वाचन आयोगले सरकारलाई भन्योः आगामी निर्वाचनमा विद्युतीय मेसिन उपलब्ध गराऊ

इकागज |
असार १६, २०७९ बिहीबार १८:२१ बजे

काठमाडौँ- निर्वाचन आयोगले सरकारसँग आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावका लागि विद्युतीय मतदान मेसिन (इभिएम) को प्रयोग गर्न  प्रस्ताव  गरेको छ । 

बिहीबार आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा इभिएमको प्रयोग गर्नुपर्ने गरी प्रस्ताव पठाइएको जानकारी दिएका छन् ।  


आयोगले यसअघि स्थानीय तहकै निर्वाचनमा इभिएमको प्रयोग गर्न विज्ञसहितको समिति गठन गरेको थियो । समितिले नेपालमा बनेका इभिएमको प्रमाणीकरण गर्न अर्को समिति बनाउन सुझाव दिएको थियो । अर्यालले समयको अभाव हुँदा स्थानीय तहको निर्वाचनमा इभिएमको प्रयोग गर्न नसकेको सहायक प्रवक्ता बताए। 

‘स्थानीय तहको निर्वाचनकै बेलामा इभिएमको प्रयोग गरौं भनेर एउटा समिति बनाएका थियौं। एभिएम प्रयोग गर्न सकिने तर प्रमाणीकरण गर्न अर्को प्राविधिक समिति गठन गर्न भन्यो,’ उनले भने, ‘ समय अभावले त्यो सम्भव हुन सकेको थिएन ।’

आयोगले गठन गरेको समितिको प्रतिवेदनबारे आवश्यक निर्णय गर्न लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाइएको उनले बताए । 

‘मतपत्रमा मत हाल्दा बदर मत पनि धेरै भए। अहिलेको जमानामा इभिएममा किन नजाने त भनेर आम सरोकारवालाहरूको, मिडियाको, समाजको चासो छ । जनताकै सेवा गर्ने फेरि जनताकै चासोलाई सम्बोधन नगर्दा अलिकति अन्यथा अर्थ लाग्ने हुँदा समितिको सुझावलाई पनि मध्यनजरमा राखेर हामीले माग गरेका हौं,’ उनले अगाडि थपे । 

अर्यालका अनुसार नेपालमा बनेका विद्युतीय मतदान यन्त्र प्रमाणीकरण भइसकेका छैनन् । त्यसैले नेपालमा बनेको मेसिन प्रयोग गर्न नसकिए विदेशमा प्रयोग भएका मेसिन भए पनि उपलब्ध गराउन आयोगले माग गरेको हो। आयोगले सरकारसँग साउन मसान्तसम्ममा मेसिन उपलब्ध गराउन लेखी पठाएको हो।

‘सकिन्छ भने नेपालमै बनेकालाई प्रमाणीकरण गरौं । सम्भव छैन भने साउन मसान्तसम्म भारतकै हुनसक्छ अरू देशमा सफलतापूर्वक प्रयोग भएको  र विश्वसनियतामाथि प्रश्न चिन्ह नै नभएका मेसिन ल्याएर निर्वाचन गरौं भनेका हौं,’ उनले अगाडि थपे, ‘सकिन्छ भने देशैभरि नभए केही ठाउँमा सुरूवात गरौं र त्यसलाई विस्तार गर्दै जाऔं भन्ने आशयले गृह मन्त्रालयमार्फत निर्णय गरिदिन भन्दै पत्राचार गरेको हो।’

निर्वाचन आयोगले संविधान तथा संघीय कानूनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा इभिएम प्रयोग गर्न सक्ने कानूनी व्यवस्था छ।

२०६४ सालको संविधान सभा निर्वाचनमा आयोगले छ वटा निर्वाचन क्षेत्रहरूमा इभिएमको प्रयोग गरेको थियो। त्यस्तै २०७० सालको संविधान सभा उपनिर्वाचनमा बर्दिया,  बाग्लुङ,  काठमाडौं,  कैलाली लगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा इभिएमको प्रयोग गरेको थियो । यी ठाउँमा सफलतापूर्वक प्रयोग भएको आयोगले जनाएको छ। 

आयोगले यसबारेमा दलहरूसँग पनि आवश्यक छलफल गर्ने जनाएको छ। ‘इभिएममा जाने भनेको समयको माग हो । हामीले माग गर्‍यौं। अब सरकारको स्रोत साधनदेखि दलहरूसँग पनि सहमति जुटाउनु पर्नेछ। किनभने निर्वाचन भनेको विश्वासको खेल पनि हो,’ अर्यालले सुनाए ।

 

 

 


Author

थप समाचार
x