सरकार

प्रधानमन्त्रीलाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने आयोगको तयारी

इकागज |
असार २१, २०७९ मगलवार १३:११ बजे

काठमाडौं – निर्वाचन आयोगले आसन्न संघीय तथा प्रादेशिक निर्वाचनको मिति प्रस्ताव गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एकदुई दिनमै प्रधानमन्त्री देउवालाई भेटेर मिति प्रस्ताव गर्ने जानकारी दिए । 

प्रवक्ता पौडेलले आयोग चुनावको मिति प्रस्ताव गर्न धेरै अगाडि नै तयार भइसके पनि प्रधानमन्त्रीको व्यस्तताका कारण प्रस्ताव गर्न ढिलो भएको बताए। मंसिरको पहिलो साता निर्वाचन गर्ने गरी आयोगले तयारी थालिसकेको पनि उनले जनाए । निर्वाचनका लागि मिति घोषणा गर्ने बेला भइसकेको उनको भनाइ छ । 


‘आसन्न संघीय तथा प्रादेशिक निर्वाचनका लागि मिति घोषणा गर्ने बेला भइसकेको छ । मिति सिफारिसका लागि आयोगले प्रधानमन्त्रीसँग भेटघाट गर्न चाहिरहेको छ,’ इकागजसँग उनले भने, ‘उहाँको कार्यव्यस्ताका कारण भेट हुन सकिरहेको छैन । समय उपलब्ध हुनासाथ भेटघाट हुन्छ । एकदुई दिनमै भेटघाट हुन्छ ।’

उनले अगाडि भने, ‘हामीले गर्नुपर्ने आन्तरिक तयारी गरिसकेको छौँ । मतदाता नामावली संकलनलगायतका मुख्य काम हामीले गरिरहेकै छौँ ।’ 

उनले आयोग एकै चरणमा निर्वाचन गर्न तयारी रहेको पनि बताए । 
 


Author

थप समाचार
x