सरकार

निर्वाचनमा जनताको साथ र समर्थन लिएर कांग्रेस विजयी हुन्‍छ : देउवा

इकागज |
साउन ३०, २०७९ सोमबार १३:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले सो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरेका छन् ।

कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा सोमबारबाट सुरु भएको कार्यक्रममा बोल्दै उनले सो निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्‍न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्रमा जनताभन्दा ठूलो अरु कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास समेत व्यक्त गरे । 


उनले सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने तयारी गरिरहेको बताए । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि सफलता हात पार्नका लागि जनताको मन जित्नुपर्ने र त्यसका लागि स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने पटकपटक दोहोर्‍याए ।

‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ । कोभिडबाट जनताको जीवनलाई सहज बनाउने चुनौति पनि थियो । त्यस्तै देशमा सुशासन, लोकतान्त्रिक मूल्यमान्यता र संविधानको भावना अनुसार देशको शासन सत्ता चलाउने चुनौति पनि थियो । एमसीसीबारे व्यापक भ्रम सृजना गरिएको थियो । ती सबै समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले महत्वपूर्ण सफला हासिल गरेको हो ।  स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएको छ । यो निर्वाचनमा नेपाली कांग्रेसले महत्वपूर्ण सफलता हासिल गरेको छ' उनले भने 'अब हाम्रो ध्यान आगामी मंसीर ४ गते हुने आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन तपाईहरूको ठूलो भूमिका हुनेछ भन्ने मैले विश्वास लिएको छु ।'

'सम्पूर्ण पार्टी पंक्तिलाई जिताउनका लागि सक्रियताका साथ लाग्नुहुनेछ आम निर्वाचनमा ७४ सालमा हामी एक्लै चुनाव लड्‌नुपर्ने स्थिति थियो । विपक्ष गठबन्धन बनेपछि हामीले पराजय हुनुपर्‍यो । यसपाली हामी गठबन्धन सरकारमा छौं । गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेका हौं । फेरि गठबन्धन गरेर जानका लागि हामीले छलफल गरिरहेका छौँ । स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको मन जित्ने काम गर्नु पर्दछ । जुन ठाउँमा जनताका मन जितिएको छ, कामहरू भएका छन्' उनले भने 'त्यहाँ एक्लै चुनाव लड्‌दा पनि सफलता पाएका छौं । त्यसैले आउँदा दिनहरूमा पनि सार्वभौमसत्ता सम्पन्न जनताको हितमा अब आउने चुनावमा जनताको समर्थन प्राप्त गर्नलाई पार्टीका सबै साथीहरूले त्यस काममा लागेर जनताको दिल जित्यौं भने हामीले अवश्य पनि चुनाव जित्नेछौं । जनताभन्दा ठूलो कोही छैनन् । उनीहरूको साथ, समर्थन लिनु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले कोभिड संकट समाधान गराउन, संवैधानिक मूल्यमान्यता अनुसार मुलुकलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको दावी गरे । कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीलाई आगामी आम निर्वाचनमा बहुमत नजिकको पार्टी हुने गरी विजयी गराउने काममा पार्टीबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताए ।


Author

थप समाचार
x