सरकार

आज आम निर्वाचन : १ करोड ७९ लाख मतदाता, २२ हजार २२७ मतदान केन्द्र

इकागज |
मंसिर ४, २०७९ आइतवार ६:३२ बजे

काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको’ बताएका छन् । 


उनले ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान पनि गरेका छन् ।

देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन् ।

त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन् । प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन् ।

चुनावका लागि गृहमन्त्रालयले शनिबार मध्यरातिबाट यातायात बन्द गरिसकेको छ । तर, मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ । त्यसबाहेक सवारी पास लिएका सवारीसाधन र अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन हुनेछन् ।

आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको छ । 
सरकारले आज र भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । 


Author

थप समाचार
x