सरकार

प्रजातन्त्र दिवस

राष्ट्रपतिदेखि सभामुखसम्म, कसले के भने ?

इकागज |
फागुन ७, २०७९ आइतबार ८:५ बजे

काठमाडौँ - नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए । आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ ।

प्रजातन्त्र दिवस मूल समारोहको समन्वयमा राजधानीको टुँडिखेलमा प्रजातन्त्र दिवस भव्यरूपमा मनाइँदैछ। उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता रहने छ ।


प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन् ।

आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् ।

उनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गरेकी छन् ।

“हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना  एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको विषय उनले सन्देशमा उल्लेख गरेकी छन् । 

नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गरेकी छन् । उनले सन्देशमा नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको र विसं २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको सङ्घर्षले आजकै दिन विजय हासिल गरेको स्मरण गरेकी छन् ।

“सहिदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ”, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, “यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।” 

उपलब्धिको रक्षा गर्न उपराष्ट्रपतिद्वारा अपिल

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुति दिनुहुने महान वीर वीरगङ्नाहरूलाई स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन् । 

“विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपलब्धिहरू संस्थागत भइसकेका छन, यी उपलब्धिहरूको संरक्षण तथा रक्षा सबै नेपालीको कर्तव्य हो”, सन्देशमा भनिएको छ ।

प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उपराष्ट्रपति पुनको अपेक्षा छ । 

उपराष्ट्रपति पुनले फागुन ७ गते ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले निरंकश राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा सम्झिँदै गर्दा २००७ सालको आजकै दिन सार्वभौम नेपाली जनताको अजेय शक्तिबाट राणाशासन पराजित भएर प्रजातन्त्र स्थापना भएको स्मरण गरेका छन् ।

उनले भनेका छन्, “नेपालमा युगान्तकारी परिवर्तनको यात्रा शुभारम्भको दिन राष्ट्रिय प्रजातन्त्र दिवस-२०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धीका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड छ ।

त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्, “आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ ।”

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासहित प्रधानमन्त्रीले समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”

मुलुकको सामु द्रुत विकास अघि बढाउने चुनौती छ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ को अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले लोकतन्त्र प्राप्तिका लागि लामो चरण सकिएको सन्दर्भ उल्लेख गर्दै विकास अगाडि बढाउने चुनौती रहेको बताए । 

“विसं २००७ मा नेपालमा जहानियाँ राणा शासनको अन्त्य भएर प्रजातन्त्रको आगमन भए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन, लोकतन्त्र प्राप्तिका लागि चेतना भर्न सुरु गरे पनि थप आन्दोलनको जरुरत पर्‍यो, यसैको सिलसिलामा नेपाली जनताले सुझबुझपूर्ण तबरबाट सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन्”, सन्देशमा भनिएको छ । 

प्रजातन्त्र दिवसका सन्दर्भमा नेपालमा प्रजातन्त्र एवं लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रजातन्त्रप्रतिको निष्ठालाई आत्मसात गर्न हामीलाई यस पावन दिनले सदैव प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन् । 

“नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दछु”, सभामुख घिमिरेले भनेका छन्, “राष्ट्रिय प्रजातन्त्र दिवसले शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।” लोकतन्त्रले परिकल्पना गरेका हाम्रा संस्थाहरुले आफ्ना अभिभारा पूरा गर्न अघि बढेको र सङ्घीयता कार्यान्वयनको चरणमा नै ररिहेका बेला कहीकतै पनि हाम्रा संस्थालाई कमजोर बनाउन नहुने सन्देशमा उल्लेख छ ।


Author

थप समाचार
x