सरकार

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ् पार्ने उपराष्ट्रपतिको विश्वास

इकागज |
फागुन ९, २०७९ मंगलबार ७:३६ बजे

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले ‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड नयाँ वर्ष ग्याल्पो ल्होसार २१५०’को अवसरमा शेर्पा दिदीबहिनी, दाजुभाइलगायत सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । ​ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले शेर्पा समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्नुका साथै नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ् पार्ने विश्वास व्यक्त गरे । 

शुद्ध पानी चढाइ देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने तथा आपसमा शुभकामना आदन प्रदान गरेर मनाइने ग्याल्पो ल्होसारलाई आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रुपमा लिइने उनको भनाइ छ । 


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो भन्दै उपराष्ट्रपतिले हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र विभिन्न समुदायको भाषा, धर्म, संस्कार, संस्कृति तथा धार्मिक एवं सांस्कृतिक चाडपर्व हाम्रो गौरवका रुपमा रहेका बताए । 

“हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दै आएको शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, भेषभुषासहितको विशिष्ट पहिचान छ । यो पहिचान विश्वमा नेपालकै पहिचान हो”, सन्देशमा उनेका छन् । 


Author

थप समाचार
x