सरकार

'पाँच वर्षभित्र पानी विदेशमा निर्यात गर्ने योजना छ'

खानेपानी मन्त्री अब्दुल खान भन्छन्- अरुले पनि मेरोजति काम गरे देश बन्‍न समय लाग्दैन

इकागज |
चैत १७, २०७९ शुक्रबार १२:३३ बजे

फाइल तस्बिर

काठमाडौँ - खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् । शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले साढे दुई महिनामा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गरेका हुन् । 

उनले आफू मन्त्री बनिसकेपछि नै सबै नेपालीलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्तगरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरु गरेको बताए । अब छिट्टै नै विभिन्न सार्वजनिक स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताललगायत स्थानमा सार्वजनिक धारा राख्ने उनको भनाइ छ । ‘हामीले एक घर एक धाराको अभियान अघि बढाइरहेका छौँ । यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन,' उनले भने, 'सार्वजनिक धारा हामीले अहिले सिंहदरबारका विभिन्न स्थानमा राखेका छौँ, यसका अलावा हामीले सार्वजनिक स्थल, अस्पताल, बसपार्क, एयरपोर्टमा राख्ने सोच छ । मैले जुन स्प्रिटले काम गर्नुपर्ने हो त्यो अनुसार त अहिले पनि काम गर्न पाएको छैन । किनभने विभिन्न किसिमका बाधाहरू हुन्छन्, त्यो बाधा पार गर्दै अघि बढ्ने स्प्रिट पाएको छैन ।'


उनले मन्त्रालयका विभिन्न समस्याका कारण अझै पनि आफूले चाहेको गतिमा काम गर्न नसकेको स्वीकार गरे । मन्त्री खानले बोतल र जारमा महँगो मूल्य नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे ।

देशका हरेक क्षेत्रमा पाँच वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । 'बोतल र जारको पानीमा जुन अनियमितता, महँगी छ त्यो नहुनुपर्ने हो, पानीमा हामी यत्रो धनी हुँदाहुँदै पनि यत्रो महँगोमा किनेर खानुपर्ने कुरा दुःखको कुरा हो,' उनले भने, 'पानीको मूल्य घटाउनुपर्छ । खानेपानीको समस्या समाधान गर्ने, दुईदेखि अढाइ वर्षसम्म तराई मधेसका समस्या समाधान गर्ने र पाँच वर्षभित्र हाम्रो देशको पानी विदेशमा निर्यात गर्ने योजना छ । दुईदेखि ३ महिना र ५ महिनासम्ममा बोतल र जारको पानीको मूल्य घटाउँछौँ । १ वर्षभित्रमा मेलम्ची २ को समस्या समाधान गर्नेछौँ ।’


Author

थप समाचार
x