सरकार

भ्रष्टाचारविरुद्ध केही समयभित्रै ठूलाठूला एक्सन हुँदैछ, त्यसले ठूलै तरंग ल्याउँछ : प्रधानमन्त्री प्रचण्ड

इकागज |
जेठ १३, २०८० शनिबार १३:१५ बजे

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताएका छन् । 

काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा बेथिति र विकृतिका विरुद्ध लड्नुपर्नेमा जोड दिए ।


प्रधानमन्त्री प्रचण्डले भने, “भ्रष्टाचार र विकृतिका विरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुआत हुन थालेको महसुस हुँदैछ । यो युद्धमा मैले पनि हाम फालेको छु ।  अपमानित र घेराबन्दी गर्ने काम भइरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ । हामीसित चुनौती र अवसर दुवै छन् ।”

थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उनको भनाइ छ । माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री प्रचण्डले बताए । विचार, वर्ग, राष्ट्र निर्माणका निम्ति सङ्कल्प लिएर अगाडि बढेको उल्लेख गर्दै उनले अब ठूलाठूला एक्सन हुने र त्यसको तरङ्ग पनि ठूलै जाने बताए ।  

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने बताए ।

‘अहिले नदेखिएको मात्रै हो । केही समयभित्रै ठुलाठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं’ प्रचण्डले भने । उनले अब भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकलल्प नभएको बताए ।

‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ । जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन’ प्रचण्डले भने ।

नीति तथा कार्यक्रम पारित गर्नुपर्ने र नागरिकता लगायतका विषयको टुङ्गो लगाउनुपर्ने जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले कस्तो जनमत बनाउने भन्ने कुरा प्रेस सेन्टर नेपालको काँधमा रहेको र यसका लागि स्वयम्सेवकका रुपमा नेतृत्वलाई साथ दिन आग्रह गरे । उनले शङ्खरापुरको विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

स्व कृष्ण सेन ‘इच्छुक’को योगदानको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले सेन बहुआयमिक व्यक्तित्वको धनी र निष्ठावान् व्यक्ति भएको तथा क्रान्तिकारी विचारको पक्षमा रहने एउटा साहित्यिक स्रष्टा नेपाल समाजको प्रेरणाको स्रोत भएको बताए । 

साधारणसभामा प्रेस सेन्टर नेपालका संस्थापक सदस्य, जनप्रतिनिधिमा निर्वाचित सेन्टरका केन्द्रीय सदस्य, घाइते, बेपत्ता, द्वन्द्वपीडित र पत्रकार तथा उत्कृष्ट शाखालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।


Author

थप समाचार
x