सरकार

जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सह्य हुँदैन : प्रवक्ता शर्मा

इकागज |
असार १५, २०८० शुक्रबार १८:२७ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छिन् ।

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले पहिचानको नामकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको उल्लेख गरिन् ।


नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीबार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो । सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने आश्वासन समेत दिइन् । उनले कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताइन् ।

केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै उनले नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने जिकिर गरिन् । 

मन्त्री शर्माले ठूला वा सानाभन्दा पनि सरकारले अनियमितता गर्ने व्यक्तिलाई नछोड्ने बताइन् । उनले भ्रष्टाचारका घटनामा प्रमाण पुगेपछि घटनामा संलग्न दोषी नउम्किने बताइन् । 
 


Author

थप समाचार
x