सरकार

प्रदेश दुईमा ओलीसँग मिल्दै कांग्रेस !

उपसभापति निधि केन्द्रको सत्तासँग मिल्न लागेको अन्य दलको आरोप

इकागज |
जेठ २०, २०७८ बिहिवार १७:२४ बजे

काठमाडौँ  : प्रदेश-२ मा सरकार परिवर्तनको खेल पुनः सुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही नेताहरू आफ्नो स्वार्थ अनुकुल हुनेगरी केन्द्रीय गठबन्धन नै बिगार्ने शैलीमा प्रस्तुत भएको आरोप जसपाको उपेन्द्र यादव समूहले लगाएको छ । यही विषयलाई लिएर पटक-पटक छलफल भए पनि कांग्रेस नेतृत्व  निर्णय  लिन अलमलमा गरिरहेको छ ।

कांग्रेसभित्र एउटा धारले केन्द्रमा जे भए पनि प्रदेशमा एमालेसँग नै मिलेर सरकार बनाउने भन्‍न थालेको छ भने अर्कोले नचाहिँदो गठबन्धन गर्न नहुने बताइरहेको छ । जसरी केन्द्रमा गठबन्धन भइरहेको छ प्रदेशमा पनि त्यही अनुरुप बनाउनु पर्ने अर्को पक्षको धारणा छ ।


उपसभापति विमलेन्द्र निधीले एमाले (केपी शर्मा ओली समूह) सँग मिलेर भए पनि कांग्रेसबाटै मुख्यमन्त्री बनाउनु पर्ने भन्दै सभापति शेरबहादुर देउवालाई फकाइरहेका छन् । तर केन्द्रमा जसपाको यादव समूह, माओवादी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा देउवाले संविधानको धारा ७६(५) अनुरुप बन्‍ने सरकारमा प्रधानमन्त्रीको दाबी पेस गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका कारण प्रधानमन्त्री नियुक्त हुन नपाए पनि सहकार्य भइरहेको छ । उनीहरू आफ्‍नो दाबी कानुनसम्मत रहेको भन्दै सर्वोच्च अदालतसम्म पुगेका छन् ।  

यो अवस्थामा तलमाथि गर्न नहुने धारणा जसपा अध्यक्ष यादवको छ । उनका अनुसार आगामी दिनमा यही गठबन्धनमा प्रदेश-२ चल्ने हुनाले मुख्यमन्त्री फेरेर अघि बढ्न पर्ने अवस्था नभएको यादवले बताए । ‘कांग्रेस जस्तो दलले यता र उता खुट्टा राख्‍न मिल्दैन । स्पष्ट कुरा भएको विषयमा कुनै एकको जोडबलमा लाग्‍नु हुँदैन,’ उनले इकाजसँग भने, ‘तत्काल केही हुँदैन । म भोलि जनकपुर जाँदैछु । त्यसपछि थप कुरा गरौँला । अहिले खास केही हुँदैन ।’ 

यादवले यसो भनिरहँदा बिहीबार नै कांग्रेस उपसभापति निधिले भेटेर  सभापति देउवालाई भेटेर प्रदेश-२ मा ओली नेतृत्वको एमालेसँग सहकार्य गर्नु नै उपयुक्त हुने बताएको बुढानिलकण्ठ स्रोतले बतायो । केन्द्रको सहकार्यसँग प्रदेशलाई दाज्‍न नहुने उनले देउवासँग तर्क गरेका थिए । प्रदेशमा जाेसँग सहज हुन्छ, त्यहीसँग सहकार्यमा जानु पर्ने सुझाव निधिले देउवालाई दिएका थिए । निधिले जसपाको महन्थ ठाकुर समूह, कांग्रेस र एमालेको ओली समूहसँग  मिलेर अघि बढ्ने योजना बनाएकाले त्यही अनुसार देउवालाई सहमतिमा ल्याउने प्रयास गरिरहेको स्रोतले बतायो ।  

एमालेको ओली समूहसँग सहकार्य गरेमा कांग्रेसले मुख्यमन्त्री पाउनसक्ने भनेर फकाउने काम भएको जसपा अध्यक्ष यादवले सुनाउन थालेका छन् । प्रदेश-२ मा तीन सांसद पदमुक्त भएपछि १०४ सांसद् छन् । त्यसमा जसपाका ५५ सांसद छन् । त्यसमा पनि ३० भन्दा बढी उपेन्द्र यादव समूहका छन् ।  त्यहाँ एमालेका २१ सांसद छन् । त्यसमा १३ भन्दा बढी सांसद् नेपाल नेपाल समूहका छन् । त्यहाँ कांग्रेसको १९ सीट छ । जसले गर्दा जसपाको यादव समूह, कांग्रेस र एमालेको नेपाल समूह मिलेको खण्डमा सहज समीकरण छ । 

अहिलेका मुख्यमन्त्री लालबाबु राउतको निरन्तरता यही समीकरणमा हुन्छ । अर्को समिकरण बनाएर मुख्यमन्त्री परिवर्तन गर्ने खेलमा कांग्रेस उपसभापति निधि लागेको आरोप विपक्षी गठबन्धनमा आबद्ध दलका नेताहरूले लगाइरहेका छन् । यसबारेमा निधिसँग इकागजले पटक-पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

त्यो क्षेत्रमा पूर्व राष्ट्रपति डा. रामबरण यादवदेखि दुवै छिमेकीको समेत चासो रहन्छ । त्यस्तै नेपालमा रहेका जर्मन, फ्रान्स र युरोपेली अन्य मुलुकका पनि त्यहाँ थिंक ट्यांकको नाममा अनेकन चासो राखेको पाउन सकिन्छ ।  
 


Author

थप समाचार
x