सरकार

भारतसँगका असमझदारी हटेको छ : प्रधानमन्त्री ओली

मोदीलाई ओलीको आग्रह : कोभिडविरूद्धको लडाइमा नेपाललाई भारतको साथ आवश्यक छ

इकागज |
जेठ २२, २०७८ शनिबार १४:२३ बजे

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्माले छिमेकी भारतसँग रहेको भनिएको असमझदारी हटेको बताएका छन् । तीन दिनअघि बीबीसी हिन्दी सेवालाई दिएको अन्तर्वार्तामा उनले असमझदारी हटेको बताएका हुन् । उनले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर समूहलाई सरकारमा लगेर मन्त्रिपरिषद् पुनर्गठन गरेकै दिन अन्तर्वार्ता प्रशारण भएको थियो । 

बीबीसी नेपाली सेवाले पनि प्रशारण गरेको भन्दै प्रधानमन्त्री कार्यालयले जानाएकाे छ । उनले आफ्ना पुराना मन्त्रीहरूलाई बिदाइ गर्न चाहिरहेको र जसपालाई मन्त्रिपरिषद्मा लैजान चाहिरहेका बेला उनले यस्तो धारणा बाहिर ल्याएका हुन् । भारत छिमेक हो र छिमेक भएपछि कहिलेकाही घच्चपच्च हुनु स्वभाविक हो भन्दै अब त्यस्तो असमझदारी नरहेको दाबी प्रधानमन्त्रीले गरेका छन् ।  


‘हो, कहिलेकाहीँ असमझदारीहरू थिए, तर अब ती असमझदारीहरू हटेका छन् । कुनै समय असमझदारी थियो, हामी त्यसैमा अल्झिएर बस्‍नु हुँदैन, भविष्य हेरेर अगाडि बढ्नु पर्छ,’ उनले मन्त्रिपरिषद् पुनर्गठन गरेकै दिन दिएको अन्तरवार्तामा भनेका छन्, ‘केही अँध्यारा र काला पक्षहरू थिए, त्यसमा अल्झिनु हुँदैन । हामीले अहिले उज्यालो पक्षलाई अगाडि बढाउनु पर्छ, हामीले सकारात्मक पक्षलाई अगाडि बढाउनु पर्छ ।’ 

ओलीले बीबीसी हिन्दीलाई दिएको अन्तरवार्ता उनको सचिवालयले विज्ञप्तीको रूपमा पठाएको हो । उनले भारतसँग जस्तो सम्बन्ध अरुसँग नरहेको पनि बताएका छन् । ‘छिमेकमा प्रेम र समस्या दुवै हुन्छ । चिली वा अर्जेन्टिनाका मानिससँग त समस्या हुँदैन,’ उनले भने, ‘त्यहाँ (चीली अर्जेन्टिना) त तपाईंको प्रेम हुन्छ, न घृणा, केही पनि हुँदैन । हुनत सामाजिक सञ्‍जालको जमाना अलि अलि प्रभाव होला ।’ त्यताका उदाहरण दिएर ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

खोपमा भारतले सहयोग गर्नुपर्छ 

नेपालमा फैलदो कोभिड नियन्त्रण, कोभिडविरुद्धको लडाईमा भारतले अन्य मुलुकलाई भन्दा फरक ढंगले सहयोग गर्न पर्ने ओलीले बताए । उनले नेपाल र भारत खुला सीमा मात्र होइन कतिपय स्थानमा त दशगजा समेत थाहा नभएको अवस्थामा नेपाललाई गर्ने सहयोगमा भारतको विशेष ध्यान जानुपर्ने बताए  । 

भारतमा कोभिड नियन्त्रण भयो र नेपालमा हुन सकेन भने त्यसको कुनै अर्थ नहुने उनको धारणा छ । उनले भारतबाट चाहे जस्तो सहयोग कोभिड नियन्त्रणमा नपाएको घुमाउरो शैलीमा भने पनि पहिलो पटक नै खोप उपलब्ध गराएको र अन्य स्वास्थ्य सामग्री पनि सहयोग गरेकोमा धन्यवाद पनि भने । 

प्रधानमन्त्रीले भनेका छन्, ‘मलाई लाग्छ, जति सहयोग मिल्नु पर्दथ्यो एउटा छिमेकी, जसको सिमाना खुला छ, भारतमा महामारी रोकियो तर नेपालमा नियन्त्रण भएन भने त्यसको कुनै अर्थ नै छैन, किनकि त्यो सर्छ नै ।’ उनको यो जवाफ भारतबाट आशा गरेजस्तै सहयोग प्राप्त गरेको छ त नेपालले भन्‍नेमा हो  । 

‘म प्रधानमन्त्री मोदीलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘मानिसहरू बीच हरेक कुराका निम्ति आवतजावत हुन्छ । यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ । त्यसको अर्थ मैले भारतबाट सहयोग नपाएको भनेको होइन ।’ उनले चीनको विषय ल्याएर राजनीति गर्न नहुने पनि बताए ।  यतीबेला नेपाललाई खोप चाहिएको छ त्यसको लागि नेपालले दुवै छिमेक र सबै मुलुकलाई आग्रह गर्नेछ र गरिरहेको छ ।

‘खोप भारतले दिए पनि, चीनले दिए पनि, अमेरिका, युके जसले दिए पनि ठीक छ । त्यसैकारण यसमा राजनीति गर्न जरुरी छैन र दुवै छिमेकीलाई हामी धेरै धन्यवाद दिन्छौं,’ उनले भने, ‘किनभने एउटा (चीन) ले हामीलाई १८ लाख खोप दिएको छ, अर्को (भारत)ले २१ लाख खोप दिएको छ । दुवैको मद्दत हामीले पाइराखेका छौं । दुवैबाट हामीलाई मेडिकल उपकरणहरू पनि मिलिरहेको छ । त्यसलैले हामी दुवैलाई धन्यवाद दिन्छौं ।’
 


Author

थप समाचार
x